काठमाडौं । बीमा क्षेत्र कै पहिलो म्युचुअल फण्ड ‘रिलायबल समृद्धि योजना’ को बिक्री खुला भएको छ । रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले वैशाख ३ गते बुधबारदेखि १ अर्बको म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो । योे योजना १० वर्षे अवधिको बन्दमुखी योजना हो।
रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘रिलायबल समृद्धि योजना’ ले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको हो । कुल योजनाको आकारमध्ये १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्धक रिलायबल लाईफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई तथा र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।
यसमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आवेदन भर्न सकिनेछ । यसमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै इकाई बिक्री नभएमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । माग भन्दा बढीको आवेदन परेको अवस्थामा योजनाको आकार २५ प्रतिशतले बढाएर १ अर्ब २५ करोडसम्म कायम गर्न सकिने जनाइएको छ ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।
फण्ड मार्फत संकलन गरेको रकम मुख्यतया धितोपत्र बजारमा लगानी गर्ने योजना व्यस्थापकको रहेको छ । सरकारी ऋणपत्र, ट्रेजरी वील तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक निक्षेप तथा अन्य मुद्रा बजारका उपकरणहरुमा लगानी गर्नेछ । योजनाले दोस्रो वर्षदेखि लाभांश वितरणको प्रक्षेपण गरेको छ । जसमा योजनाले दोस्रो र तेस्रो वर्षमा समान १० प्रतिशतका दरले लाभांश दिने प्रक्षेपण गरेको छ । यस योजनाको वार्षिक औषत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।
यस योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्काशन पश्चात सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्रि गर्न सकिनेछ ।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रबर्धकलाई केयर एनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । साथै योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटि ४ प्लस रेटिङ्ग प्रदान गरेको छ ।