काठमाडौं । नयाँ वर्ष लागेपछि शेयर बजारमा दोस्रो पटक एकै दिन १० अर्ब माथिको कारोबार भएको छ । वैशाख १४ गते आइतबार झण्डै ११ अर्ब बराबरको शेयर किनबेच भएको छ । यसअघि गत वैशाख ४ गते बिहीबार १० अर्ब ७९ करोड रूपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।
त्यसअघि गत फागुन २१ गते १० अर्ब ९७ करोड रूपैयाँको शेयर कारोबार भएको थियो। वैशाख ४ गते ४४ दिनपछि कारोबार रकमले १० अर्ब नाघेको थियो । बजार घट्ने क्रम थामिदै जाने तथा कारोबार रकममा आएको क्रमश सुधारले बजारले वृद्धिको लय समात्ने आँकलन लगानीकर्ताहरुको छ ।
पछिल्लो समयमा विकशीत केही राजनैतिक घटनाक्रम र गभर्नर नियुक्तिमा भएको ढिलाईले लगानीकर्ताको मनोबल उकासिन सकेको छैन् । सरकारले आगामी बजेटको तयारी गरिरहेको बेला लगानीकर्ताहरुले यसप्रति पनि निकै चासो राखेका छन् ।
आइतबार नेप्से परिसूचक ३.५८ अंक बढेर २६६१.६० विन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । गत बिहीबार ७ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएकोमा आइतबारको बजारमा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । जसको ८६ करोड १७ लाख ३८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।