काठमाडौं । यो साताको पहिलो दिन आइतबारदेखि घट्न थालेको नेप्से लगातार चौथो दिन बुधबारसम्म आइपुग्दा ओरालो लागेको छ । गभर्नर नियुक्तिमा भएको ढिलाई, जारी शिक्षक आन्दोलन तथा निजामती कर्मचारी समेतले आन्दोलनको चेतावनी दिएपछि शेयर लगानीकर्ताको मनोबल थप खस्किएको छ । यस्तै विश्व बैंकले दक्षिण एशिया लगायत नेपालको आर्थिक वृद्धिदर यसअघि गरिएको प्रक्षेपण भन्दा कम रहने प्रतिवेदन सार्वजनिक गरेकाले पनि शेयर बजार प्रभावित हुन पुगेको हो ।
सरकार आगामी आर्थिक बजेट निमार्णको प्रक्रिया रहेको छ । यहि वैशाख १९ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउने तयारीमा समेत रहेको भएपनि यसले लगानीकर्तामा कुनै सकारात्मक सन्देश दिन सकेको छैन् । बजार सुधारका लागि घोषणा गरिएका कार्यक्रम र उच्चस्तरीय सुझाव समितिले दिएका सुझावहरु समेत कार्यन्वयनमा जान नसक्दा लगानीकर्ता अन्योलमा रहेको देखिन्छ ।
सार्थै बैक तथा वित्तयि संस्थाहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले पनि लगानीकर्तामा निराश छाएको छ । अधिकांशले सार्वजनिक गरेको वित्तीय विवरण कमजोर देखिएपछि त्यसयता बजार घटिरहेको छ ।
बुधबार नेप्से परिसूचक ३२.३८ अंक घटेर २६५५.९४ विन्दुमा झरेको छ ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसुचक ०.२१ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधनको ०.३९ अंक बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ९.०६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड १९ लाख ८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ।