शीर्षकहरू

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ ल्याउने, पायो पूर्व स्वीकृति

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ ल्याउने, पायो पूर्व स्वीकृति

काठमाडौं । विद्युत् नियमन आयोगले सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्कासनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार को प्राथमिक शेयर (आईपीओ)  निष्कासन गर्ने भएको हो । 

प्राथमिक शेयर निष्कासन (आईपीओ) को लागि कम्पनी र कुमारी क्यापिटलबिच सम्झौता सम्पन्न भई कार्य अघि बढी सकेको छ ।  शेयरको प्रत्याभूतिको कार्य नेपाल एस.वि.आई क्यापिटलबाट हुनेछ । 

कम्पनीले ११ मे.वा क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । कुमारी बैंक लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंकसँगको सहवित्तिय कर्जाबाट आयोजनाको निर्माण कार्य भइरहेको छ । आयोजनाको करिब ७० प्रतिशत कार्य सम्पन्न भएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा तादी खोलामा यो आयोजनाको निर्माण कार्य भइहरेको छ । 

यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको  बहुमत शेयर लगानी रहेको र आयोजना निर्माण पश्चात अपि पावर कम्पनीका शेयरधनीहरुलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले बताए । यस आयोजनाको निर्माण कार्य २०८१ साल माघ महिना भरिमा सम्पन्न गर्न कम्पनी लागि परेको समेत न्यौपानेले बताए । 

आयोजनाबाट उत्पादित विद्युत् शक्ति ८ किलोमिटर लामो ३३ के.भि ट्रान्समिसन लाइनबाट ने.वि.प्राको समुन्द्रटार सवस्टेशनमा जडान गरि काठमाडाैंको लागि भरपर्दो विद्युत् प्रदान गरिनेछ । आयोजनामा फोल्वेल इनर्जे भारतको अत्याधुनिक मेसिन जडान गरिने कम्पनीले जनाएकाे छ  ।