शीर्षकहरू

भ्रष्टाचार आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप–प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।  

जलेश्वर नगरपालिका वडा नं. १ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको उनीहरुविरुद्ध आरोप रहेको छ । बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पी.पी.सी. ढलान कार्यमा जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैठौँ धिरेन्द्र झाले पी.पी.सी. ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब तयार पारेका थिए । 

उक्त कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीको लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा पाँच लाख ८४ हजार ६३७ रुपैयाँ बढी रकम भुक्तानी गरेको उनीहरुविरुद्ध आरोप रहेको छ । उनीहरुसंग सोहि रकम बराबर बिगो माग गर्दै मुद्दा दायर गरिएको छ ।   

यस कार्यमा जलेश्वर नगरपालिकाका उप–प्रमुख रौशन खातुन, कार्यपालिका सदस्य सोगरा खातुन, जलेश्वर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष अनिल कुमार झा, बरिष्ठ इन्जिनियर पवन कुमार  झा, इन्जिनियर राकेश कुमार चौधरी र सव–इन्जिनियर दिपेश कुमार साह, उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह, सचिव सिकेन्द्र चौधरी  र कोषाध्यक्ष संतोषी देवीको पनि संलग्नता देखिएको छ । उनीहरुसंग पनि सोहि रकम बराबरको बिगो माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।