शीर्षकहरू

१० महिनामा आयो ४१ अर्ब ३८ करोड लगानी प्रतिबद्धता, वैशाखमा मात्रै ११ करोड बढीको

१० महिनामा आयो ४१ अर्ब ३८ करोड लगानी प्रतिबद्धता, वैशाखमा मात्रै ११ करोड बढीको

काठमाडौं । नेपालमा उद्योग-व्यवसाय सञ्चालनका लागि चालु आर्थिक वर्षको पहिलो १० महिनामा ४१ अर्ब बढीको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार यस अवधिमा ४१ अर्ब ३८ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ ।

उक्त लगानीमा नेपालमा ७ सय वटा उद्योग खोल्नेगरी प्रतिबद्धता आएको विभागले जनाएको छ । प्रतिबद्धतामध्ये १४४ पर्यटन, ३४ उत्पादन, ९ सूचना प्रविधि, ३०३ साना तथा मझौला, सात कृषि, दुई वन तथा खनिज क्षेत्र र २१० अन्य क्षेत्रका लागि लगानी प्रतिबद्धता आएको छ ।

प्रतिबद्धताअनुरुप ती उद्योगमा १७ हजार जनालाई प्रत्यक्ष रोजगारी दिनेगरी प्रस्ताव आएको छ ।

लगानी प्रतिबद्धा गर्ने मुलुकमा सबैभन्दा अगाडि चीन रहेको छ भने त्यसपछि भारत रहेको विभागले जनाएको छ । 

गत वैशाख १६ र १७ गते नेपालले तेस्रो लगानी सम्मेलन गरेको थियो । सम्मेलनका क्रममा  तीन परियोजनामा लगानी र ७ वटा विविध सहकार्यसम्बन्धी सम्झौता भएको थियो ।

सम्मेलनअघि सरकारले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन बाधक देखिएको भनिएका ८ वटा कानुन अध्यादेशमार्फत् संशोधन गरेको थियो । जसको प्रभाव पनि लगानी प्रतिबद्धतामा देखिएको छ ।

विभागका अनुसार चालु आवको दशौँ महिना अर्थात् वैशाखमा मात्रै ११ अर्ब २८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । जुन यस आर्थिक वर्षमा आएको कुल लगानी प्रतिबद्धताको २७ प्रतिशत हो ।