शीर्षकहरू

२० करोडसम्मका स्वदेशी उद्योगलाई ब्याज अनुदान दिइने

२० करोडसम्मका स्वदेशी उद्योगलाई ब्याज अनुदान दिइने

काठमाडौं ।सरकारले स्वदेशी उत्पादन वृद्धि गर्न ल्याएको ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवर्द्धन कार्यक्रम’ कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ । २० करोडसम्मका स्वदेशी उद्योगलाई ब्याज अनुदान दिने गरी सरकारले कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१  हालै मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ ।

कार्यविधिअनुसार उत्पादनमूलक, कृषि तथा वन पैदावारमा आधारित लघु, घरेलु तथा साना उद्योग र २० करोडसम्म स्थिर पुँजी भएका मझौला उद्योगले ब्याज अनुदान पाउनेछन् । लघु, साना र मझौला उद्योगले लिएको कर्जामा लाग्ने ब्याजमध्ये ५ प्रतिशत ब्याज अनुदान पाउनेछन् । महिला सञ्चालक रहेका उद्योगले भने यस्तो अनुदान ६ प्रतिशत पाउनेगरी कार्यविधि तयार गरिएको छ ।

गत वर्षको उत्पादन क्षमता, रोजगारी संख्या, निर्यात, वातावरणीय प्रभावलगायतका आधारमा उद्योग छनोट हुनेछन् ।

नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा स्वदेशी उत्पादनलाई बढावा दिन नयाँ कार्यक्रम समावेश गर्ने क्रममा यो कार्यक्रमको योजना तयार गरिएको थियो । व्यापार घाटा कम गर्न, स्वदेशी उद्योगको संरक्षण र उत्पादन वृद्धिका लागि नयाँ कार्यक्रम नीति तथा कार्यक्रममा बनाइएको भने पनि र्यविधि स्वीकृत नहुुँदा कार्यान्वयनमा आउन सकेको थिएन । 

सरकारले आव २०८०/८१ बजेटमार्फत् पनि उक्त कार्यक्रमलाई निरन्तरता दि‍एकोमा मन्त्रिपरिषद्‌बाट कार्यविधि स्वीकृत भएसँगै उक्त कार्यक्रम कार्यान्वयनमा गएको हो ।

व्यापार घाटा कम गर्न, स्वदेशी उद्योगको संरक्षण र उत्पादन वृद्धिका लागि उपयुक्त हुने खाका तयार गरेर अध्ययन गरेर नयाँ कार्यक्रम बनाएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा व्यापार घाटा कम गर्न टेक्सटायल, फुटवेयर, कृषि तथा खाद्य, वन पैदावार, जडीबुटी र औषधि, निर्माण, हस्तकला उत्पादनलाई प्राथमिकतामा राखिएको छ ।