काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये धेरै खर्च गर्न सक्ने पर्यटकको बसाई प्रायः पाँच तारे होटेलमा हुने गरेको छ । नेपालीहरूले पनि पछिल्लो समय विभिन्न कार्यक्रम, सभा/सम्मेलन तथा गोष्ठीहरू गर्न तारे होटल नै रोज्ने गरेको पाइन्छ । खासगरी विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको यस्ता होटलहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ ।
नेपालमा पाँच तारे होटलको संख्या १८ पुगेको छ । यी होटलमा २ हजार ८७७ वटा कोठा रहेका छन् । यसका साथै यी पाँचतारे होटलले एक साथ ४ हजार ३४५ जना पाहुनालाई सेवा दिन सक्छन् । यस्ता होटलमा ३ हजार ९७८ जनाले प्रत्यक्ष रोजगारी पाएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख छ ।
यी पाँच तारे होटलहरुमध्ये तीन वटा हाल बन्द रहेका छन् भने १५ वटा सञ्चालनमा रहेका छन् । पोखराको होटल द फूलबारी अहिले बन्द छ । यस्तै, लाजिम्पाटको होटल साङ्ग्रिला र दरबार मार्गको होटल अन्नपूर्ण रिनोभेसनका लागि भन्दै बन्द गरिएको छ।
पाँच तारे होटल केही मर्मत सम्भारका लागि त केही आर्थिक समस्याले बन्द भएका होटल एसोसिएसन अफ नेपालका महासचिव साजन शाक्य बताउँछन् । उनी भन्छन्, ‘अन्नपूर्ण होटल रिनोभेसन गर्ने भनेर बन्द भएको हो । लाजिम्पाटको साङ्ग्रिला होटल पनि रिनोभेसनका लागि बन्द भएको हो । तर, फूलबारी होटल चाहिँ आर्थिक रूपमा चलाउन गाह्रो भएर नै बन्द भएको हो ।’
पछिल्लो समय झापा जिल्लामै दुई वटा ठूला होटलहरु सञ्चालनमा आएका छन् । झापाको बिर्तामोड ३ भगवानचोकमा होटल द किङग्सबरी र धुलाबारीमा होटल मेची क्राउन प्लाजा सञ्चालनमा आएको हो । पाँच तारे स्तरको वर्गीकरण पाएको होटल द किङग्सबरीमा ८२ वटा कोठा र एक सय वटा शैया रहेको छ । जसमा एक सय ५० जनाले रोजगारी पाएका छन् ।
त्यस्तै, पाँच तारे डिलक्स होटलको स्तरमा सूचीकृत भएको होटल मेची क्राउन प्लाजामा एक सय एक वटा कोठा र ३४५ वटा शैया छन् । जसमा एक सय १० जनाले रोजगारी पाएका छन् । यसका साथै झापा जिल्लामै थप एउटा नयाँ होटल निर्माणाधीन अवस्थामा रहेको छ । त्यो पनि पाँच तारे स्तरको होटल नै हो ।
काठमाडौंको नक्सालमा पनि नयाँ होटल निर्माण भइरहेको छ । आठ अर्ब लगानीमा शङ्कर ग्रुपले पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । हिल्टन होटलमा कूल एक सय ७४ वटा कोठा रहने जनाइएको छ ।
होटलहरूले लगानीमाथिका प्रतिफल सुनिश्चितका लागि औसतमा कोठाहरू त्यही अनुसार डलरमा बिक्री गर्न सक्नुपर्छ । तर, खर्च गर्न सक्ने पर्यटकको संख्या नबढ्दासम्म यो सम्भव देखिँदैन । त्यसैले ठुला होटलमा भइरहेको लगानीको सुरक्षाको चासो र चिन्ता व्यापक रूपमा हुने गरेको छ।
अहिलेको बजारको अवस्था हेर्दा नेपालमा ठुला होटलहरुको संख्या बढी भइसकेको होटल सङ्घका पूर्व अध्यक्ष तथा मचान वाइल्डलाइफ रिसोर्टका सञ्चालक प्रकाश श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘अहिलेको हाम्रो मार्केटलाई हेर्ने हो भने नेपालमा ठुला होटलको संख्या बढी नै हो । यतिका संख्याका पाँच तारे होटलहरुलाई अहिलेको अवस्थामा नै हामीले धान्न सक्दैनौँ । भोलिको दिनमा राम्रो हुन्छ भन्ने आशाले पनि खुलेका होलान्। होटल क्षेत्रमा ठुलो मात्रामा लगानी आइरहेको छ । यसरी ठुला लगानी गरिएका होटलहरु चल्न सकेनन् भने होटल सञ्चालकसँगै लगानी गर्ने बैंक पनि समस्यामा पर्छ ।’
एकातिर धमाधम तारे होटलहरूमा लगानी बढिरहेको छ भने अर्कोतर्फ अपेक्षाकृत रूपमा विदेशी पर्यटकको संख्या नबढ्दा लगानीमाथिको प्रतिफलको सुनिश्चित हुन सकेको छैन । तर, पछिल्लो समय घट्दो अवस्थामा रहेको पर्यटकको संख्याका आधारमा हेर्दा सो अनुसारको आम्दानी हुने सम्भावना निकै कम छ ।
अहिलेको अवस्थामा होटलहरुको संख्या थपिनु भनेको राम्रो सन्देश नभएको महासचिव शाक्यको पनि तर्क छ । ‘होटलहरुले पुनकर्जा पाइरहेका छैनन । बैंकको ब्याजदर पनि महँगो छ । यसले गर्दा होटल व्यवसाय चलायमान राख्न समस्या भइरहेको छ’, उनी अगाडी भन्छन्, ‘होटल क्षेत्रहरूमा एकदमै आर्थिक समस्या छ । तर, नयाँ होटलहरु थपिनै क्रम पनि बढ्दो छ । अहिले सञ्चालनमा रहेका होटलहरुको अकुपेन्सी नै धेरै भइसकेको छ । करिब ३० लाख पर्यटकहरूका लागी अकुपेन्सी अहिले पनि छ । यस्तो अवस्थामा नयाँ होटल थपिनु भनेको राम्रो सन्देश पक्कै होइन ।’
उनका अनुसार कोरोना महामारीको असर, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कुचनका कारण सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यता छ । सञ्चालनमा रहेका होटलहरु पनि राम्रोसँग चलिरहेका छैनन । सञ्चालनमा रहँदाको खर्च पुर्याउन नै समस्या भइरहेको छ । कर्मचारीलाई तलब खुवाउन गाह्रो भइरहेको छ । यस्तो अवस्थामा नयाँ होटलका लागि आएको लगानी जोखिममा पर्ने देखिन्छ ।
हाल आधा दर्जन भन्दा बढीको सङ्ख्यामा पाँच तारे होटलहरु निर्माणाधीन अवस्थामा रहेका छन् । हिल्टनसंगै काठमाडौंको बुढानीलकण्ठ हेरिटेज, द म्यासिफ, ट्रयाङकुलिटी रोयल, इस्टर्न होटल, सूर्य नेपाल, होटल सेफ्रोन, गोपीकृष्ण कम्प्लेक्स, आयुष्यमान, लैनचौरमा सेराटन लगायतका ठुला होटल निर्माणाधीन अवस्थामा रहेका छन् ।
अहिले होटल क्षेत्रमा आइरहेको लगानी राम्रोसँग बुझेर आएको लगानी नभएको बताउँदै महासचिव शाक्य भन्छन्, ‘कति पर्यटक वर्षमा आउँछन्, कति अकुपेन्सी हुन्छ, त्यसबाट रिटर्न कति आउँछ भनेर हेरेर मात्रै लगानी गर्नु पर्ने हो । तर, लहडमा होटलहरु खुलिरहेका छन् । यसरी नै होटल खुल्ने हो भने चाडै नै बन्द हुने दिन पनि आउँछ ।’
उनका अनुसार पर्यटक आउने संख्या घट्दो छ तर होटलहरुमा लगानी बढ्दो छ । यसमा बैंकहरुले लगानी गर्दा अध्ययन गर्नु पर्ने र सरकारले अनुमति दिँदा होटल सञ्चालनको आवश्यकता कति छ भनेर बुझेर मात्रै लगानी गर्न दिनु पर्छ । यसो गर्न सकिएन भने भोलि बैंकसंगै जनता पनि डुब्ने दिन आउँछ ।
होटलहरूले लगानीको प्रतिफल सुनिश्चितका लागि औसतमा कोठाहरू तीन सय डलर माथि बिक्री गर्न सक्नुपर्छ । त्यति पैसा खर्च गर्ने पर्यटकको संख्या पनि बढ्नु पर्यो । उक्त संख्या नबढेसम्म यो सम्भव देखिँदैन ।
तर, लक्ष्य अनुसार पर्यटक भित्राउन हामीले सकिरहेका छैनौँ । यसको प्रत्यक्ष असर होटलहरूमा बढिरहेको लगानीमा पर्छ । पर्यटक आगमनको सिधा असर होटलहरूको आम्दानी र प्रतिफलमा पर्ने शाक्यको भनाई छ ।
त्यस्तै, नयाँ थपिएका होटलहरुको कारण सञ्चालनमा रहेका पुराना होटलहरुलाई चुनौती थपिएको पूर्व अध्यक्ष श्रेष्ठको भनाई छ । उनी भन्छन्, ‘अहिले नयाँ खुलेका होटलहरुका कारण पुराना होटलहरु समस्यामा रहेका छन् । पाँच तारे होटलहरु सीमित छन् । यसमा पनि पछिल्लो समय खुलेका नयाँ होटलहरु पर्यटकको रोजाइमा पर्न थालेका छन् । पुराना पाँच तारे होटलहरु नयाँ जसरी नै सञ्चालन गर्नका लागि पुरै रिनोभेसन गर्नु पर्ने हुन्छ। यसो गर्न सकिएन भने नयाँ होटलहरुसंग उनीहरूले प्रतिस्पर्धा गर्न सक्दैनन् । अरू थप नयाँ होटलहरु पनि आउने क्रम बढ्दो छ । यसले गर्दा चुनौती रहेको छ ।’
‘काठमाडौं, चितवन, झापा लगायत विभिन्न ठाउँमा ठुला होटलमा लगानी बढ्दो छ । होटल मात्रै खुलेर हुँदैन । दिगो रूपमा पर्यटक आवागमनको वातावरण पनि बनाउन आवश्यक छ । पर्यटक बाहेक अन्तर्राष्ट्रिय स्तरका सेमिनारहरू पनि गर्ने वातावरण सिर्जना गर्नु पर्छ’, पूर्व अध्यक्ष श्रेष्ठले भने ।
छ महिनामै १९ होटलका लागि करिब साढे ८ अर्ब लगानी प्रस्ताव
उद्योग विभागको तथ्याङ्क हेर्ने हो भने चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नै साढे आठ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव होटल तथा रेस्टुरेन्ट खोल्नका लागि आएको छ । यस अवधिमा १९ वटा होटल तथा रेस्टुरेन्टका लागि स्वदेशी तथा विदेशी गरी ८ अर्ब ४२ करोड ९१ लाख रुपैयाँ लगानी प्रस्ताव आएको हो । जसमा तीन वटा विदेशी लगानी प्रस्ताव हो भने १६ वटा स्वदेशी लगानीका रहेका छन् ।
चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा तीन वटा होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न विदेशी लगानीको प्रस्ताव आएको हो । यस अवधिमा यी होटल तथा रेस्टुरेन्टका लागि तीस करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।
त्यस्तै, चालू आर्थिक वर्षको छ महिनामै १६ होटल तथा रिपोर्टका लागि ८ अर्ब भन्दा बढीको स्वदेशी लगानी प्रस्ताव आएको छ । यस अवधिमा उद्योग विभागमा स्वदेशी लगानीको प्रस्तावका रूपमा ८ अर्ब १२ करोड ९१ लाख रुपैयाँ बराबरको होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि लगानी प्रतिबद्धता भएको हो ।
प्रतिक्रिया