शीर्षकहरू

एनसेल फाउन्डेसनद्वारा १०० एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’

एनसेल फाउन्डेसनद्वारा १०० एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’

काठमाडौँ, जेठ ४ । युवा सशक्तीकरण र शिक्षाप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यमा यस वर्ष पनि देशभरका एसईई उत्तीर्ण विद्यार्थीका लागि ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ।

कार्यक्रमअन्तर्गत १०० जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ। विद्यार्थी छनोट सातै प्रदेशमा सञ्चालन हुने लिखित परीक्षा र अन्तर्वार्ताको आधारमा गरिनेछ। आर्थिक अवस्था कमजोर भए पनि उच्च शिक्षा हासिल गर्ने चाहना र क्षमता भएका विद्यार्थीलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।

छात्रवृत्तिसँगै चयन भएका विद्यार्थीले १२ महिनासम्म निःशुल्क डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि प्राप्त गर्नेछन्, जसले उनीहरूको अध्ययन तथा अवसरसँगको पहुँचलाई थप सहज बनाउने विश्वास गरिएको छ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्का ले शिक्षा देशको भविष्य निर्माणको आधार भएकाले प्रतिभाशाली विद्यार्थीलाई अवसरसँग जोड्न कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

यस अभियानमा हन्ड्रेड ग्रुपद्वारा सञ्चालित प्रोजेक्ट शिक्षाले थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेछ। सन् २०१७ देखि सञ्चालनमा रहेको यस कार्यक्रमले देशभरका एसईई उत्तीर्ण विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्दै आएको छ।

गत वर्ष पनि एनसेल फाउन्डेसनले यही कार्यक्रममार्फत ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो। ती विद्यार्थीहरू हाल विभिन्न शैक्षिक संस्थामा कक्षा १२ अध्ययनरत छन्।
 

प्रतिक्रिया