काठमाडौ । वि.सं २०८१ को अन्तिम कारोबार दिनमा नेप्से सूचक घटेर बन्द भएको छ । आइतबार नेप्से सूचक ८.६२ विन्दुले घटेर २६६२.०८ विन्दुमा बन्द भएको हो । यस दिन ६ अर्ब २८ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ । अधिकांश समूहमा गिरावट आएको छ । २ वटा कम्पनी भने सकारात्मक सर्किट लेभलमा रहेर कारोबार भएका छन् ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । गत साताको अन्तिम कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आइतबार ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैया ँबराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४० प्रतिशत घटेको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। विन नेपाल लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक र बाराही हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन सिईडिबी होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड ३२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ४४ करोडको शेयर कारोबार भएको छ ।