शीर्षकहरू

प्रस्तावित लाभांश पारित गर्दै नेपाल पुनर्बीमा कम्पनी

प्रस्तावित लाभांश पारित गर्दै नेपाल पुनर्बीमा कम्पनी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले जेठ १७ गते प्रस्तावित लाभांश पारित गर्ने भएको छ । उक्त दिन कम्पनीले नवौं वार्षिक साधारण सभा गर्न लागेको हो । वैशाख २६ गते साझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेट बत्तिसपुतली, काठमाडौंमा विहान ९ः३० बजे सभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को लागि कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्तावलाई सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । हाल कायम चुक्तापूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रूपैयाँको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो । यस कम्पनीले आगामी माघ मसान्तसम्म २० अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्नुपर्नेछ । ४ दशमलव ७५ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी १३ अर्ब ४२ करोड २१ लाख ८६ हजार रूपैयाँ कायम हुनेछ ।

लाभांशसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । नेपाल सरकार वाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । 

बोनस शेयर वितरणपछि कायम हुने चुक्तापँजी बमोजिम प्रबन्धपत्र संशोधन गर्ने र त्यसको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ ५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।