शीर्षकहरू

बीवाइडीले एकैदिन ल्यायो ३१ विद्युतीय कार

बीवाइडीले एकैदिन ल्यायो ३१ विद्युतीय कार

काठमाडौं । चिनियाँ विद्युतीय कार बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले एकैदिन ३१ विद्युतीय कार काठमाडौं ल्याएको छ । रसुवागढी नाकाबाट आयात भएका ती कारहरु मंगलबार एकैदिन काठमाडौं ल्याइएको हो ।

रसुवागढी नाकाबाट पहिलोपटक एउटै लस्करकासाथ ठूलो सङ्ख्यामा विद्युतीय कार भित्रिएको स्थानीयले बताएका छन् ।

नेपालमा बीवाडीका बिजुली गाडीको माग बढ्दै गएको छ । माग र बजार बढ्दै गएपछि चीनको बीवाईडी कम्पनी लिमिटेडका एसिया प्यासिफिक क्षेत्रीय महाप्रबन्धक लिउ झिउलिङ उच्चस्तरीय अधिकारीसहित आइतबार मात्रै नेपाल आएका थिए ।

नेपाल आउने टोलीमा झिउलिङसहित लिन बिन, के जुहुआ र वाङ जियानवेई रहेका थिए ।

नेपालमा पछिल्लाे केही महिनामामा अन्य ब्रान्डको तुलनामा विशेषगरी बीवाइडीका इभी गाडीहरुकाे माग बढेको छ।

पछिल्लो आयात तथ्यांक हेर्दा विद्युतीय गाडीको माग पेट्रोल/डिजेल गाडीको तुलनामा अत्यधिक रहेको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा मात्रै ७ हजार ९९ वटा विद्युतीय कार नेपाल भित्रिँदा पेट्रोल/डिजेल गाडी भने २ हजार ५५८ मा सीमित भएको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ ।