शीर्षकहरू

निजामती सेवा दिवस :   १० जना उत्कृष्ट र ३० जना कर्मचारी पुरस्कृत हुँदै

निजामती सेवा दिवस :   १० जना उत्कृष्ट र ३० जना कर्मचारी पुरस्कृत हुँदै

काठमाडौं । भदौ २२ गते निजामती सेवा दिवसमा सरकारले १० जनालाई उत्कृष्ट निजामती र ३० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शनिबार निजामती सेवा दिवसको अवसरमा कर्मचारीलाई सम्मान गर्ने भएको हो । 

हरेक वर्ष २२ भदौमा निजामती सेवा दिवस मनाइन्छ । दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामति कर्मचारी दिवसका अवसरमा शुभकामना दिएका छन् । प्रधानन्त्री ओलीले एक शुभकामना जारी गर्दै, “नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसा योग्य छ । तानाशाही विरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका भएका आन्दोलन उल्लेखनीय नै छन्।’’

उनले निजामति कर्मचारीलाई यस घडीमा ती संघर्षहरुमा शहादत प्राप्त गर्ने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, «‘पीडितहरुप्रति सहानुभूति प्रकट गर्दछु ।कर्मचारीहरुले सहभागिता जनाएका र योगदान पु¥याएका आन्दोलनहरु सफल भएका पनि छन् र कर्मचारीहरुका मागहरु प्नि क्रमशः पूरा हुँदै गएका छन् ।’

उनले भने, ‘आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । अब हामी जो जहाँ छौं, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ । यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ ।’

 यसका लागि आफ्नो दक्षता अभिबृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन समेत जरुरी रहेको उनले बताए । यस अवसरमा सम्पूर्ण निजामती कर्मचारीहरुमा उच्च नैतिक आचरण, इमान्दारीता र पेशागत निष्ठा मार्फत् जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने समेत शुभकामना व्यक्त गरेका छन ।

 लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक हुुँदै गएको उनको भनाइ छ । लोकतन्त्रका लाभहरुको वितरण आम नागरिकसम्म पु¥याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिबृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । निजामती सेवाको यस्तो भूमिका मार्फत् नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिने त्यसैको माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु पर्ने रहेको उनले विज्ञप्तिमा उल्लेख छ ।

 राष्ट्रको यस आकाङ्क्षा पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीहरुले आफ्नो क्षमता अभिबृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमान्दारीपूर्वक व्यवहारमा प्रदर्शन गर्नु पर्ने आवश्यकता रहेको उनले बताए । निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम गुुनासाहरुलाई चिर्दै पेशागत मूल्यमान्यता, व्यावसायिकता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र व्यवहार मार्फत् सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु पर्ने भएको उनले भने । 

मुलुकमा उत्पन्न हुने प्राकृतिक प्रकोपहरु बाढी, पहिरो, आगलागीजस्ता विपद्जन्य घटनाहरुमा राष्ट्रसेवकहरुले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम पनि प्रशंसनीय रहेको उनले बताए । जनताले अनुभूत हुनेगरी सेवा प्रवाहलाई सरल, सहज र समयानुकूल बनाउँदै अगाडि बढ्न पनि यस अवसरमा सबै राष्ट्रसेवकहरुलाई आग्रह गरेका छन ।