शीर्षकहरू

रञ्जना ट्रेड सेन्टरका तीन फिल्म हल खाली, मासिक १५ लाखमा भाडामा ठेक्का आह्वान

रञ्जना ट्रेड सेन्टरका तीन फिल्म हल खाली, मासिक १५ लाखमा भाडामा ठेक्का आह्वान

काठमाडौं । काठमाडौंस्थित न्युरोडमा रहेको रञ्जना ट्रेड सेन्टरका तीन वटा फिल्म हल खाली भएपछि रन्जना ट्रेड सेन्टर प्रालिले ती हल भाडामा लाउनका लागि सूचना जारी गरेको छ । सिनेमा हल बडावड ठेक्का प्रक्रियामार्फत् भाडामा लगाउने गरी शुक्रबार कम्पनीले १५ दिने सूचना जारी गरेको छ ।

उक्त ट्रेड सेन्टरको भवनमा रहेका तीन वटा सिनेमा हल न्यूनतम मासिक भाडा १५ लाखमा नघट्ने गरी ठेक्का प्रक्रियामार्फत् भाडामा लिई सञ्चालन गर्न ईच्छुक फर्म वा कम्पनीका लागि सूचना आह्वान भएको हो ।

रन्जना ट्रेड सेन्टर भवनको पाँचौं र छैटौं तल्लामा ती हल रहेका छन् । अहिले जुन अवस्थामा छन् सोही अवस्थामा भाडामा लिन कम्पनीको कार्यालयबाट दश हजार फिर्ता नहुने गरी तिरी बोलपत्र फारम खरिद गर्न सकिने सूचनामा उल्लेख छ ।

खरिद गरिएका बोलपत्र फारम रितपूर्वक भरी प्रथम पटक सूचना प्रकाशित भएको मितिले १६ औं दिनको दिउँसो १२ बजेसम्म र बोलपत्र रकम (मासिक भाडा रकम को १० प्रतिशतले हुन आउने रकम रन्जना सिनेप्लेक्स प्रालि।को नाममा प्रभु बैंकमा रहेको खाता नं. ०८७०१५१९६९००००१३ मा दाखिला गरी सक्कलै भौचर सोही दिन दिनको १२:१५ बजेदेखि १३:४५ बजेसम्ममा खामबन्दी गरी कम्पनीको कार्यालयमा पेस गर्नुपर्ने बताइएको छ ।

खाली रहेका ती हलहरू २५१, ११८ र १६४ सिट क्षमताका रहेका छन् ।