शीर्षकहरू

देशभर ६ खर्ब ४० अर्ब बराबरको बैंक नोट, ठूला नोट प्रयोग घट्दै

देशभर ६ खर्ब ४० अर्ब बराबरको बैंक नोट, ठूला नोट प्रयोग घट्दै

काठमाडौं । विद्युतीय भुक्तानी प्रविधि सबै नागरिकको पहुँचमा नपुगेकाले नगदबाटै अधिक कारोबार हुने गर्ने गरेका नेपालीसँग कति जम्मा कति रुपैयाँ बराबरको बैंक नोट होला ? हातमा नोट लिएर त्यसैबारे सोचिरहँदा आम मानिसमा यो जिज्ञासा उत्पन्न हुन्छ ।

नोट निष्काशन गर्ने नेपाल राष्ट्र बैंकले यो जिज्ञासा मेटाउने तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार गत असार मसान्तसम्म नेपालभर ६ खर्ब ४० अर्ब ८ करोड रुपैयाँ बराबर विभिन्न दरका बैंक नोट चलनचल्तीमा छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै चलनचल्तीमा रहेका नोटबारे जानकारी दिएको हो । प्रतिवेदनअनुसार, नेपालमा हाल ११ वटा दरका नोट चलनमा छ । वि.सं. २०५३ सालमा छापिएको, तर लागत महँगो परेको भन्दै छपाई बन्द गरिएको २५ र २५० दरका नोटहरू पनि यतिखेर प्रचलनमा रहेको केन्द्रीय बैंकको दाबी छ ।

१ रुपैयाँ दरका १६ करोड १० लाख, २ रुपैयाँ दरका १८ करोड ५२ लाख, २५ रुपैयाँ दरका पाँच करोड ७० लाख र २५० रुपैयाँ दरका ८ करोड ७४ लाख थान नोट पनि चलनचल्तीमा रहेको राष्ट्र बैंकले जानकारी दिएको हो ।

यसबीच प्रतिशतका हिसाबले ५०० र १००० दरका भन्दा ५, १०, २०, ५० र १०० दरका नोटहरूको प्रयोग बढेको देखिएको छ । आर्थिक शिथिलता र ठूलो कारोबारमा ठूला नोटको साटो शहरी क्षेत्रमा विद्युतीय भुक्तानी प्रयोग बढेकाले ५०० र १००० नोटको प्रयोग केही घटेको देखिएको हो ।