शीर्षकहरू

धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्रे गरिँदै

धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्रे गरिँदै

गोदावरी । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र गर्ने काम अघि बढेको छ । सडक कालोपत्रका लागि धनगढी–स्याउले सडकखण्डमा पानी पिचको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।

उक्त सडक कालोपत्र गर्न पानी पिचको काम भइरहेको जनाउँदै गत आर्थिक वर्षमा बजेट अभावका कारण काम अलपत्र परेको कार्यालयका प्रमुख लक्ष्मण रावलले बताए । उनका अनुसार उक्त द्रुतमार्गअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र गर्नका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो । 

धनगढी–स्याउले सडक खण्डको १३ दशमलव चार र दीपायल–बाजमोर्ड खण्डको नौ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको रावलले बताए । कैलालीमा थप साँढे छ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ । चार खण्डमा सडक कालोपत्रको काम भइरहेको उनले जानकारी दिए ।

“डोटीमा छ किलोमिटर कालोपत्र गरिएको छ । डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा कालोपत्रको काम अघि बढेको छ”, योजना प्रमुख रावलले भने, “हालसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ ।”  

विसं २०७८ मा ठेक्का सम्झौता गरिए पनि बजेट अभावका कारण सडक निर्माण अलपत्र परेको जनाउँदै रावलले चालु आवमा सङ्घीय सरकारले रू २५ करोड बजेट विनियोजन गरेको जानकारी दिए । विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रुपमा सर्भे गरी ट्र्याक खोल्न थालिएको थियो ।