शीर्षकहरू

सोनापुरको शेयरमूल्य परलभन्दा तल, एकैदिन गुम्यो सर्वसाधारणको २ करोड ७० लाख

सोनापुरको शेयरमूल्य परलभन्दा तल, एकैदिन गुम्यो सर्वसाधारणको २ करोड ७० लाख

काठमाडौं । प्रिमियम मूल्य २३७ रुपैयाँ ५८ पैसा प्रतिकित्तामा सर्वसाधारणले खरिद गरेको सोनापुर सोनापुर मिनरल्स एण्ड आयलको शेयर खरिद मूल्यभन्दा पनि तल झरेको छ । आईपीओ जारी गरी नेपाल धितोपत्र बोर्ड (नेप्से) मा सूचीकृत भई कारोबार शुरू भएको चौथो दिन सोनापुरको शेयर मूल्य ७.९९ प्रतिशतले घट्दै २३४ रुपैयाँ ८० पैसामा झरेको हो ।

धितोपत्र बोर्डका अधिकारीहरूले अख्तियारी दुरुपयोग गरी आर्थिक चलखेलका आधारमा सोनापुर लगायत दर्जनौं कम्पनीलाई प्रिमियम मूल्यमा शेयर जारी गर्न दिएको आरोप छ । सोनापुरले पनि उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम सहित २२५ रुपैयाँमा आईपीओ निष्कासन गर्नेगरी स्वीकृति पाएको थियो ।

सर्वसाधारणलाई सोनापुरले त्यो भन्दा पनि महँगो मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर २३७ रुपैयाँ ५८ पैसा प्रतिकित्ताको दरले सेयर बेचेको थियो । कम्पनीको अवस्था खराब हुँदाहुँदै शंकास्पद वित्तीय विवरणलाई आधार मानी धितोपत्र बोर्डले सोनापुरलाई प्रिमियममा आईपीओ बेच्न अनुमति दिएको थियो ।

आइतबार (कात्तिक १२) देखि दोस्रो बजारमा कारोबार शुरु भएको सोनापुरको शेयरमा पहिलो दिन नै नकारात्मक सर्किट लागेको थियो । नेप्सेको स्पेशल प्रिओपनिङ सेसनमा ३५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर ३१५ रुपैयाँमा झरेको थियो ।

कारोबारको दोस्रो दिन अर्थात्‌ सोमबार पनि सोनापुरको शेयरमा उही प्रवृत्ति देखिएको थियो । प्रतिकित्ता ३१५ रुपैयाँमा कारोबार खुलेको कम्पनीको प्रतिकित्ता मूल्य १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसा कायम भएको थियो । 

कारोबारको तेस्रो दिन मंगलबार २८३ रुपैयाँ ५० पैसाबाट कारोबार शुरु भएको सोनापुरको प्रतिकित्ता शेयर मूल्य १० प्रतिशतले घट्दै २५५ रुपैयाँ २० पैसा कायम भएको थियो । 

आज चौथो दिन पनि यो कम्पनीको शेयरमूल्य २० रुपैयाँ ४० पैसाले घट्दै परल अर्थात सर्वसाधारणले आईपीओमा हालेको मूल्यभन्दा पनि तल झरेको छ । २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणले किनेको शेयर २३४ रुपैयाँ ८० पैसामा झर्दा २ रुपैयाँ ७८ पैसा घाटा लागेको छ । सर्वसाधारणले किनेको ९७ लाख ३२ हजार ५४४ कित्ता शेयरबाट मात्रै लगानीकर्ताको २ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम गुमेको छ ।

जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ करोड २३ लाख २०० कित्ता सेयर सोनापुरले प्रिमियम मूल्यमा बेचेको थियो ।

सोनापुर सिमेन्टले लगानीकर्ता डुबायो, प्रिमियममा शेयर जारी गर्न दिएका हमालमाथि होला कारबाही ?