शीर्षकहरू

कृषि बीमा व्यवसायमा १२ सय प्रतिशतको वृद्धि, दावी भुक्तानीमा भने सधैं समस्या

कृषि बीमा व्यवसायमा १२ सय प्रतिशतको वृद्धि, दावी भुक्तानीमा भने सधैं समस्या

काठमाडौं । दावी भुक्तानीमा सधै समस्या देखिएपनि कृषि बीमाप्रति किसानहरुको आकर्षण झन् बढ्दै गएको देखिन्छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक हेर्ने हो भने पनि एक वर्षमा कृषि बीमा व्यवसायमा १२९९ दशमलव २६ प्रतिशतको वृद्धि देखिएको छ । 

प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको एघार महिना अर्थात् जेठ मसान्तसम्म २ अर्ब भन्दाबढीको व्यवसाय गरेका छन् । हाल सञ्चालनमा रहेका १४ बीमा कम्पनीहरुले यस अवधिमा २ अर्ब ८ करोड ३८ लाख १४ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले एक लाख ५७ हजार ३६० बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

गत आवको सोही अवधिमा तुलनामा बीमा व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । गत आवको जेठ मसान्तसम्म १४ करोड ८९ लाख २२ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका कम्पनीहरुले यस अवधिमा एक अर्ब ९३ करोड ४८ लाख रुपैयाँ बराबरको बीमा व्यवसायमा विस्तार गरेका छन् । सरकारले कृषि बीमालाई प्रभावकारी बनाउन अनुदान रकमलाई बढाएसँगै कृषि बीमा गर्नेहरूको सङ्ख्या बढेको विज्ञहरु बताउँछन् ।

सरकारले हाल कृषि तथा पशुपन्छी बीमा बापत प्रिमियममा ८० प्रतिशत रकम अनुदान दिँदै आएको छ । जसमा किसानले कृषि बीमा गर्दा प्रिमियमको २० प्रतिशत रकम मात्रै तिरे पुग्छ । यहि प्रावधानले गर्दा किसानहरू आकर्षित बन्दा बीमा कम्पनीहरूले पनि उल्लेख्य मात्रामा बीमा शुल्क सङ्कलन गरेको देखिएको छ ।

कृषि बीमा व्यवसायको आकर्षण बढ्दै गए पनि यता दावी भुक्तानीमा भने सधैँ समस्या हुने गरेको छ । समयमा भुक्तानी नपाएको भन्दै कहिले कृषक समस्यामा परेको सुनिन्छ त कहिले सरकारले समयमा अनुदानको रकम नदिएको भन्दै बीमा कम्पनीहरूको गुनासो सार्वजनिक हुने गरेको छ ।

केही समयअघि कृषि बीमाको अनुदानको विषयलाई लिएर बीमा प्राधिकरण र बीमा कम्पनीहरूबिच विवाद समेत उत्पन्न भएको थियो । लामो समयदेखिको अनुदानको रकम भुक्तानी नपाएको भन्दै निर्जीवन बीमा कम्पनीहरूको छाता सङ्गठन नेपाल बीमक सङ्घले कृषि बीमालेख नै बन्द गरेका थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केहि आंंशिक रकम उपलब्ध गराई बाँकी रहेको अनुदानको रकम पनि तत्काल उपलब्ध गराउने प्रतिवद्धता गराएसँगै कृषि बीमालेख जारी गरिएको हो । सरकारले कृषि बीमा वापत कम्पनीहरुलाई पहिलो किस्ता वापत ७२ करोड रुपैयाँ निकासा गरेको छ ।

सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशूल्कमा क्रमशः अनुदान दिँदै आएकोमा २०७७ सालदेखि कृषि बीमाको अनुदान करिब रु ३ अर्ब बाँकी रहेको थियो । बीमकहरुले अनुदान रकम पाउन बारम्बार पहल गर्दा समेत विभिन्न बहानामा अनुदान रोकिएपछि संघले जेठ ७ गते देखि कृषि सम्बन्धी बीमालेख जारी गर्न बन्द गरेको थियो ।

यस्तो छ बीमा व्यवसायको प्रदेशगत अवस्था

प्रदेशगत बीमाशुल्क सङ्कलनको अवस्था हेर्दा पनि कुल बीमा शुल्क आर्जन बढेको देखिन्छ । प्राधिकरणका अनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट बागमती प्रदेशमा सबै भन्दाबढि बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिमा बागमती प्रदेशमा ६० हजार ५२७ बीमालेख बिक्री गरी ७६ करोड ७४ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, सोही अवधिमा कम्पनीहरुले कोशी प्रदेशबाट २१ हजार ६६७ बीमालेख बिक्री गरी २७ करोड २० लाख ६७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । प्राधिकरणका अनुसार कृषि तथा बाली बीमाबाट कम्पनीहरुले मधेस प्रदेशबाट १९ करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले उक्त प्रदेशबाट १२ हजार ६२१ बीमालेख बिक्री गरी १९ करोड ५० लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका हुन् ।

प्राधिकरणका अनुसार गण्डकी प्रदेशमा पनि कृषि तथा बाली बीमा बापत गरिने बीमा शुल्क बढेको छ । कम्पनीले यस अवधिमा उक्त प्रदेशबाट १६ हजार ५०० बीमालेख बिक्री गरी २६ करोड ८३ लाख ५७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै, लुम्बिनी प्रदेशमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट ३१ करोड एक लाख १५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहले यस अवधिमा २९ हजार ५३ बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

त्यसै गरी, कर्णाली प्रदेशमा कृषि तथा बाली बीमा गर्नेहरू बढेका छन् । बीमा गर्नेहरू बढेसँगै बीमाशुल्कमा पनि बढेको छ । कम्पनीहरुले उक्त प्रदेशमा यस अवधिमा ११ हजार ५३६ बीमालेख बिक्री गरेका छन् । उक्त सङ्ख्यामा बीमालेख बिक्री गरी कम्पनीहरुले २० करोड ५८ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार कम्पनीहरुले यस अवधिमा सुदूरपश्चिम प्रदेशबाट ६ करोड ४९ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले सो प्रदेशमा यस अवधिमा ५ हजार ४५६ बीमालेख बिक्री गरेको तथ्याङ्कमा उल्लेख छ ।