शीर्षकहरू

दुर्घटना भएको जहाजको बीमा प्रभु इन्स्योरेन्समा, ३० करोडको दाबी पर्ने अनुमान

दुर्घटना भएको जहाजको बीमा प्रभु इन्स्योरेन्समा, ३० करोडको दाबी पर्ने अनुमान

काठमाडौं । बुधबार बिहान दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजको बीमा प्रभु इन्स्योरेन्समा रहेको पाइएको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’मा दुर्घटना भएको थियो । उक्त जहाजको बीमा प्रभु इन्स्योरेन्समा गरिएको थियो । 

सौर्य एयरलाइन्सका मार्केटिङ चिफ मुकेश खनालका अनुसार एयरलाइन्स कम्पनीहरुले  सरकारले तोकेको मापदण्डमा अनिवार्य रूपमा बीमा गर्नुपर्छ । सोही मापदण्ड अनुसार सौर्य एयरलाइन्सले जहाजको बीमा प्रभु इन्स्योरेन्समा गरेको हो ।     

जहाज दुर्घटना परेसँगै सौर्य एयरलाइन्सले अब प्रभु इन्स्योरेन्समा दाबी पेश गर्नेछ । यसको जानकारी एयरलाइन्सले बीमा कम्पनीलाई गराइसकेको छ । प्रभु इन्स्यारेन्सले यसमा दाबी भुक्तानी हुने स्वीकार पनि गरिसकेको छ ।   

यसमा बीमा कम्पनीले करिब ३० करोड रुपैयाँको हाराहारीमा बीमा दाबी पर्न सक्ने अनुमान गरेको छ । यद्यपि, जहाज दुर्घटनाको सर्भे प्रतिवेदन  आएपछि मात्रै यसको अन्तिम विवरण आउनेछ । हाललाई ३० करोड रुपैयाँ हाराहारीमा दाबी पर्न सक्ने अनुमान बीमा कम्पनीले गरेको छ । 

जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको छ । नियमनअनुसार मृतकको नाममा सम्बन्धित हकवालाले २० हजार डलर (आजको विनिमय दर १३४.२१ अनुसार २६ लाख ८४ हजार २ सय) पाउनेछन् । १८ जनाको मृत्यु हुँदा ३ लाख ६० हजार डलर अर्थात् ४ करोड ८३ लाख १५ हजार रुपैयाँ बराबरको मृत्यु दाबी पर्नेछ । 

घाइते पाइलटको उपचार खर्च पनि बीमा कम्पनीले नै बेहोर्नुपर्नेछ । यसैगरि दुर्घटना ग्रस्त जहाजको क्षतिपूर्ति र त्यसले पुर्‍याएको अन्य तेस्रो पक्षको क्षतिको दायित्व पनि बीमा कम्पनीले नै बेहोर्नुपर्नेछ । यदि आज दुर्घटना भएको जहाज अन्य कुनै घर, मल, जहाज लगायतका सम्पत्तिमा ठोकिएको भए थप दायित्व सिर्जना हुने थियो ।    

प्रभु इस्योरेन्सले यस बीमामा ०.३ प्रतिशत जोखिम आफूले राखेको छ । ९९.७ प्रतिशत जोखिम भने विदेशी पुनर्बीमा कम्पनीमा गरेको छ । त्यो अवस्थामा जति रकमको दाबी पर्छ । त्यसको ०.३ प्रतिशत मात्रै दाबी प्रभु इन्स्योरेन्सले गर्नुपर्छ । बाँकी दाबी भने विदेशी पुनर्बीमाले गर्नेछन् । तसर्थ, यो दाबिले प्रभु इन्स्योरेन्सको वित्तीय अवस्थामा कुनै असर नपर्ने  बताइएको छ । 

प्राविधिक परीक्षणको लागि उक्त जहाज आज बिहान ११ बजे काठमाडौंबाट पोखराको लागि उडेको थियो । सौर्य एयरलाइन्सका कर्मचारी, इन्जिनियर र प्राविधिक र उनका परिवारसहित  जहाज उडेको थियो । तर, रन वे छोड्न साथ जहाज दुर्घटना भएको थियो । जहाज कसरी दुर्घटना भयो भन्नेबारे अनुसन्धान हुन बाँकी छ ।