शीर्षकहरू

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडकोे आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरेको हो ।

वैदेशिक रोजजारीमा जारी गरेका नेपालीमा भने कम्पनीले जेठ १६ गतेसम्म आईपीओ विक्री गरेको थियो । आयोजना प्रभावित स्थानीयबाट माग बमोजिम आवेदन नपरेपछि कम्पनीले जेठ १६ गतेसम्मको लागि आईपीओ विक्री खुला गरेको हो । 

कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । स्थानीयका लागि विक्रीमा आएको आईपीओ खरीदका लागि लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका (साविकका घनपोखरा गा.वि.स. वडा नं. १ र २, खुदी गा.वि.स. वडा नं. ३, ताघ्रिङ्ग गा.वि.स. वडा नं. ४, घेरमु गा.वि.स. वडा नं. ५, बाहुन डाँडा गा.वि.स. वडा नं. ६, भुलभुले गा.वि.स. वडा नं. ७ र ८ तथा सिमपानी गा.वि.स. वडा नं. ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । 

पहिलो चरणको आईपीओ निष्कासनपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्नेछ । दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको ६५ हजार कित्ता आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको हो । यो आईपीओ खरीदका लागि स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ । 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानीयय बासिन्दाले विक्री प्रबन्धकसँगै सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । 

कम्पनीले लमजुङ्ग जिल्लामा २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ ।