काठमाडौं । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन गर्न एनआइएमबि एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ ।
मंगलबार दुई कम्पनीबीच सम्झौता भएको हो । साशा इन्जिनियरिङले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयर जारी गर्ने तयारी गरेको छ ।
सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङले दोलखा जिल्लामा अवस्थित खानीखोलाको पानी प्रयोग गरी ३० मेगावाट क्षमताको खानीखोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरेको छ ।
उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको कम्पनीले जनाएको छ ।