aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

नेपाली सेनाको हतियार खरिदका लागि बैंकले एलसी खोल्न मानेन

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शुक्रबार, १२ जेठ २०८०
Global IME
नेपाली सेनाको हतियार खरिदका लागि बैंकले एलसी खोल्न मानेन
DHI
nmb

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत खटिने शान्ति सेनाका लागि ६ अर्ब रूपैयाँ बराबरको सैनिक सामग्री खरिद गर्ने तयारीका लागि नेपाली सेनाले प्रतीतपत्र (एलसी) खोल्न लाग्दा हिमालय बैंकले अस्वीकार गरेको छ। कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट सेनाले हतियार खरिद गर्न लागेको भन्दै हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको हो।

चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को) बाट ६ अर्ब रूपैयाँबराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिदका लागि एलसी खोल्न यही जेठ ३ गते नेपाली सेनाका अधिकारी सो बैंकमा पुगेका थिए। नोरिन्कोलाई संयुक्त राष्ट्रसंघले कालोसूचीमा राखेको थाहा पाएपछि हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको स्रोतको दाबी छ।

नेपाली सेनाले चीनबाट सैन्य सामग्री खरिद गर्न लागेको विषयमा जिज्ञासा राख्दा सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख सैनिक प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले अनभिज्ञता प्रकट गरे। ‘सैनिक सामग्री खरिदबारे मलाई जानकारी छैन,’ उनले भने। नेपाली सेनाले गुपचुपमै सैन्य सामग्री खरिद गर्न लागेको हो। सैन्य सामग्री तथा हतियार खरिदका लागि सेनाले विगतदेखि नै सरकारसँग लबिङ गर्दै आएको छ।

चिनियाँ कम्पनी नोरिन्कोबाट बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्यान्ड र पाकिस्तानले यसअघि खरिद गरेका हतियारलगायत सैनिक उपकरण कमसल रहेको पाइएका थिए। बंगलादेशले सन् २०१२–१३ मा चीनबाट खरिद गरेको ट्यांकको इन्जिन गुणस्तरहीन भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस