शीर्षकहरू

अजोड र युनाइटेड इन्स्योरेन्सले जेठ १४ गतेदेखि एकिकृत कारोबार गर्ने

अजोड र युनाइटेड इन्स्योरेन्सले जेठ १४ गतेदेखि एकिकृत कारोबार गर्ने

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले जेठ १४ गतेदेखि मर्जर प्रक्रिया पुरा गरी एकिकृत कारोबार सुरु गर्ने भएका छन् । गत चैत १६ गते मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीबीच गत पुस २६ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । मर्जरका लागि नेपाल बीमा प्राधिकरणले गत पुस २९ गतेनै सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । 

अन्तिम सम्झौता अनुसार युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने सहमति भएको छ । शेयर स्वाप रेसियो युनाइटेड र अजोड इस्योरेन्सबीच १०० बराबर ८२.५० हुने सहमति भएको छ । हाल युनाइटेड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७ करोड ९५ लाख ६८ हजार रहेको छ । यस वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । अजोड इन्स्योरेन्सको चुक्तापूँजी भने रू. १ अर्ब रहेको छ ।

बीमा क्षेत्रमा पूँजीबृद्धिको अभियान चलिरहदा कम्पनीहरूले मर्जर प्रकृयालाई प्राथमिकता दिएका हुन । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम निर्जीवन बीमा कम्पनीले रू. २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । 

युनाइटेड इन्स्योरेन्स पुरानो निर्जीवन बीमा कम्पनी हो भने अजोड इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनी हो । प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता भाडिएपछि अजोड इन्स्योरेन्सले युनाइटेडसँग मर्जर प्रक्रिया अघि बढाएको हो ।