शीर्षकहरू

राष्ट्रिय बीमा कम्पनीले बोलायो साधारण सभा, लाभांश नदिने

राष्ट्रिय बीमा कम्पनीले बोलायो साधारण सभा, लाभांश नदिने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले जेठ ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । वैशाख २१ गते वसेको कम्पनीको सञ्चालक समितिको बैठकले साविक राष्ट्रिय बीमा संस्था निर्जीवन बीमा विभागको ३१औं वार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा अमृतभोग क्याटर्स प्रा.लि, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले साबिक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभागको आर्थिक वर्ष ०६८/६९, आर्थिक वर्ष ०६९/७० र आर्थिक वर्ष ०७०/७१ गरी तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नेछ । साथै राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष ०७०/७१, आर्थिक वर्ष ०७१/७२ र आर्थिक वर्ष ०७२/७३ सम्म गरी तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

सभाले सञ्चालकहरूको आर्थिक वर्ष ०७२/७३ सम्मको भत्ता एवम् सुविधाहरू अनुमोदन र सोलाई निरन्तरता दिने विषय पनि सभाले पारित गर्नेछ । सर्वसाधारण शेयरधनीहरूको तर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय गरेको छ । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १६ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

पूँजीबृद्धिको दबाबमा रहेको यस कम्पनीले यस वर्ष पनि लाभांश प्रस्ताव गरेको छैन् । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीले रू. २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्नेछ । यस आधारमा कम्पनीलाई थप रू. २ अर्ब २३ करोड ३३ लाख ६१ हजार थप पूँजी आवश्यक पर्नेछ ।  हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ६६ लाख ३९ हजार रहेको छ । 

यस अघि रू. १ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था अनुसार रू. १ अर्ब चुक्तापूँजी कायम गर्न १२० प्रतिशत बोनस शेयर कम्पनीले बीमा समितिको निर्देशन बमोजिम वितरण गर्न पाएको थिएन ।

२०६९/७० को मुनाफाबाट कम्पनीले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । राष्ट्रिय बीमा संस्थानबाट २०७१ सालमा अलगिएर छुट्टै निर्जिवन बीमा व्यवसाय सुरु गरेको कम्पनीलाई सो अवधिमा संस्थानको वास्तविक वित्तीय अवस्था सार्वजनिक नभएसम्म लाभांश वितरण गर्न नसक्ने भन्दै समितिले रोक लगाएको थियो ।