शीर्षकहरू

'प्रिमियम संकलन गर्न मात्रै बीमा चलाउने होइन, सबैले प्रतिफल पाउने गरी काम गर्नुपर्छ'

'प्रिमियम संकलन गर्न मात्रै बीमा चलाउने होइन, सबैले प्रतिफल पाउने गरी काम गर्नुपर्छ'

सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड साबिकका दुई बीमा कम्पनीहरू "सानिमा जनरल इन्स्योरेन्स लिमिटेड" र "जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड" मर्जर भई बनेको एक निर्जीवन बीमा कम्पनी हो। सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड दुवैको स्थापना ४ वर्षअघि भएको थियो। जसमा अनुभवी व्यक्तित्वहरू र बीमा उद्योगमा उत्कृष्ट सेवा प्रदान गर्ने ख्यातिप्राप्त व्यवसायी घरानाहरू रहेको कम्पनीले जनाएको छ । साबिकको सानिमा जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुद्मुन्नप्रसाद  उपाध्याय नै हाल त्यसका सिइओ छन्। प्रस्तुत छ, उनै अनुभवी सिइओ उपाध्यायसँग आर्थिकन्युजका इन्द्र बानियाँले गरेको संवादको सम्पादित अंश :

भर्खर मर्जर मार्फत दुई कम्पनी एक बनाउनु भएको छ। मर्जरमा जाँदा देखिने कठिनाइहरू कस्ता हुँदा रहेछन्  ? 
दुई निर्जीवन बीमा कम्पनीहरू एक बन्दा सबैभन्दा पहिले हामीले मिलाउनु पर्ने भनेको पुनर्बीमाको व्यवस्थापन (रि–इन्स्योरेन्स एरेन्जमेन्ट) हो। दुई वटा कम्पनीको दुई वटा नै रि–इन्स्योरेन्सको प्यानल हुन्छ । त्यसलाई सबैभन्दा पहिले मिलाउनु पर्ने हुन्छ । त्यसपछि भुक्तानीको क्रममा रहेका दाबीहरू, अगाडी बढेका अन्डरराटिङका काम हुन्छन् त्यसलाई पनि एउटै ठाउँमा ल्याउनु पर्ने हुन्छ ।

यसका साथै दुई ठाउँमा रहेको जनशक्तिलाई एकै ठाउँमा ल्याएर काममा लगाउन पनि समस्या हुन सक्छ । त्यसको पनि व्यवस्थापन गर्नु पर्ने हुन्छ ।  हामी मर्जरमा गएका दुई वटै कम्पनी सँगसँगै आएका कम्पनीहरू हौँ। कुनै एउटा कम्पनी पुरानो अनि अर्को नयाँ भइदिएको भए त्यो अवस्थामा समस्या हुने थियो होला । तर, हाम्रो दुई वटै कम्पनी एकै समयमा स्थापना भएकोले समग्र व्यवस्थापन गर्नका लागि त्यति गाह्रो भएन ।

तपाईँहरू नयाँ कम्पनी मध्येको एक हुनुहुन्छ। नयाँ बीमा कम्पनीहरूलाई अहिले के के चुनौती छ ?
नयाँ बीमा कम्पनीहरूलाई बजारमा प्रस्तुत हुन नै चुनौती हुन्छ । पुराना बीमा कम्पनीहरूले ब्रान्ड स्थापना गरिसकेका हुन्छन् । त्यसले गर्दा उनीहरूको छुट्टै छाप बनेको हुन्छ । नयाँ कम्पनीहरूलाई आफ्नो ब्रान्ड स्थापना गर्नलाई नै समय चाहिन्छ ।

हाम्रो कम्पनीको कुरा गर्ने हो भने हामीले कारोबार सुरु गरेको दुई वर्षपछि नै विश्वव्यापी कोरोना महामारी आयो । त्यो बेला ग्राहकहरूसँग भेटेर कुरा गर्ने अवस्था समेत रहेन ।

कोरोना कालको दुई वर्ष हामीले यतिकै बस्नु पर्‍यो । हामीले ग्राहकहरूसँग जुन तहको भेटघाट, छलफल गर्नु पर्ने थियो त्यो गर्न सकेनौँ । कोरोनापछि ती कामहरू गर्न सुरु गरेका मात्र थियौँ फेरि कम्पनी मर्जरमा गयो। अझै पनि हामीले जुन मात्रामा ग्राहकहरूसँग भिज्नु पर्ने थियो त्यो तहमा हामी भिज्न सकेका छैनौँ ।

नेपालमा बीमाको लामै इतिहास भएता पनि यहाँ रोल मोडल भन्न मिल्ने खालको वातावरण बनेको नै छैन। सबै एउटै एउटै खालका छन् । यसले गर्दा ब्रान्ड स्थापना गर्न त्यस्तो भिन्न भन्ने समस्या हुन्छ र ?
कुनै कम्पनीको सेवा लगायतका कुराहरूले ग्राहकले त्यो कम्पनी रोजेका हुन्छन् । हामी नयाँ कम्पनीहरूले जुन खालको प्रयास र मेहनत गर्नु पर्ने थियो त्यो तहमा हामीले पक्कै गर्न सकेको अवस्था छैन । तर, अब हामी मर्जरमा पनि गइसक्यौँ । अग्रणी संस्था बन्नको लागि हाम्रो लेभेल पनि माथि आइसकेको छ । अबको दिनमा सानिमा जिआईसीको सेवामा एक प्रकारको भिन्नै गुणस्तर पाउनु हुनेछ ।

सानिमा जिआइसीले यो क्षेत्रको इन्स्योरेन्सलाई आफ्नो पकेट बनाउँछु भन्ने योजना पनि होला नि ?
एउटा सेक्टरलाई मात्रै लिएर अगाडी बढ्छौँ भन्ने नेपालको बजारको अवस्था छैन । नेपालको बीमा बजार हेर्ने हो भने ५० प्रतिशत हिस्सा मोटर सेग्मेन्टले नै लिएको छ । अन्य भनेको ५० प्रतिशत भन्दा कम हो ।

त्यसैले, हाम्रो बजारमा यो चिजलाई मात्रै केन्द्रमा राखेर गर्छु भनेर भन्ने नै हुँदैन । हामीले मिश्रित पोर्टफोलियोमा काम गर्नु पर्ने हुन्छ । यसका साथै ग्राहकको चित्त बुझाउनु पर्ने कुरामा कम्पनीहरूले ध्यान दिन जरुरी हुन्छ । बजार विस्तारको साथसाथै ग्राहकको सन्तुष्टि पनि बढाउनु पर्ने हुन्छ ।

अर्थतन्त्रमा देखिएको असर बीमा क्षेत्रमा कतिको परेको छ ?
विश्वव्यापीकरण अर्थतन्त्रमा आएको आर्थिक मन्दीको असर नेपालको बीमा क्षेत्रमा पनि पर्ने भइहाल्यो । कोरोना महामारीको बेलामा आर्थिक चलायमान राम्रोसँग हुन सकेन । त्यस बेला खाद्यान्न लगायत क्षेत्रमा असर देखियो । तर, अरू क्षेत्रमा बिस्तारै बिस्तारै असर देखिन थालेको हो । जसको कारण बजारमा 'इस्योर लस' बढ्दै छ। यसको परिणाम स्वरूप प्रिमियम उच्च हुन्छ ।

फलतः ग्राहकको प्रिमियम तिर्ने क्षमता कम छ । यसले पनि एक किसिम सन्तुलनलाई नै असर पार्छ । नेपालको बीमा बजार पनि यसबाट अछुतो रहेको छैन । मोटर सेक्टरमा किस्ता नै तिर्न नसक्ने अवस्था बनेको छ । धेरैले बीमा नै नगरिरहेको अवस्था समेत रहेको छ ।

हामी बीमा कम्पनीहरूको पुँजीलाई नै बढी प्राथमिकतामा राखिरहेका छौँ । पुँजी महत्त्वपूर्ण हो की बीमा फण्ड ?
कम्पनीको पुँजी पनि महत्त्वपूर्ण हो । किनभने बीमा प्राधिकरणले पनि यसलाई प्राथमिकता दिनु भनेको महत्त्वपूर्ण भएर नै हो । कम्पनीहरू सबल हुनका लागि पुँजी आवश्यक पर्छ । कम्पनी सबल भएमा विभिन्न सङ्कटहरूमा व्यवस्थापन गर्न सजिलो हुन्छ। हकप्रद शेयर मार्फत पुँजी बढाउनु पर्छ भन्ने आवश्यक छैन। यसो गरिएमा बजारमा शेयर सङ्ख्या मात्रै वृद्धि हुन्छ । मर्जरमा गएर पुँजी बढेमा बीमा कम्पनीको नम्बर घटे पनि पुँजी बढ्ने हुन्छ ।

हामी कहाँ लिने प्रिमियमको दर ग्लोबल स्ट्याण्डर्ड हो या के हो ?
ग्लोबल्ली स्ट्याण्डर्ड हो या होइन भनेर हामीले हिसाब गर्न सक्दैनौँ । किनभने हरेक अर्थतन्त्रमा त्यो फरक फरक हुन्छ । छिमेकी मुलुक भारतको नै तुलना गर्ने हो भने त्यहाँ जुन प्रिमियम छ त्यो भन्दा नेपालको महँगो छ । यो किन भएको हो भने नेपालको बीमा बजारमा इन्स्योरेन्सको मूल्य बढी छ ।

नेपालमा बीमा पहुँच सबैतिर पुर्‍याउनका लागि अहिलेका कानुनले पुग्छन् त ?
पछिल्लो पटक आएको बीमा ऐनलाई अबको १० वर्षसम्म पुनरावलोकन गर्नुपर्छ जस्तो लाग्दैन । दश वर्षपछि कस्तो के अवस्था आउँछ त्यो आफ्नो ठाउँमा छ । अहिलेको बीमा ऐनले धेरै कुरालाई समेटेको छ ।

सानिमा जिआइसीको आगामी योजना के छ ?
सानिमा जिआइसी विभिन्न बैङ्कहरूले प्रवर्द्धन गरेको कम्पनी हो । त्यसले गर्दा हामीलाई ब्रान्ड रेप्युटेसन कायम राख्न त्यति गाह्रो छैन । हामी बीमा व्यवसाय भनेको जहिले पनि स्वस्थ र प्रतिस्पर्धी हुनुपर्छ भन्ने मान्यता राख्छौँ । प्रिमियम मात्रै कति आर्जन गर्ने भन्दा पनि सबै सरोकारवालालाई राम्रो रिटर्न दिने हिसाबले बीमा व्यवसाय चलाउनु पर्छ भन्ने उद्देश्यका साथ अगाडी बढेका छौँ । हाम्रो फोकस नै क्वालिटीको लागि हुनेछ । भोलिका दिनमा सानीमा जिआइसीले बजारमा एउटा अलग्गै पहिचान बनाउन सक्छ ।