शीर्षकहरू

चौधरी समुहले फेरी गर्यो अर्को लफडा, नोक्सान नै नभएको बियरको समेत भुक्तानी दाबी

चौधरी समुहले फेरी गर्यो अर्को लफडा, नोक्सान नै नभएको बियरको समेत भुक्तानी दाबी

काठमाडौँ। उखानै छ, ‘चोरका हजार दाउ’ । एक तरिकाले भएन भने अर्को तरिकाले भएपनि लुट्नै पर्ने, दुर्घटनाबाट समेत नाफा निकाल्नै पर्ने। जुनसुकै अवस्थामा जसरी भएपनि फाइदा लिनै पर्ने मान्यता राख्ने चौधरी समुहको एउटा कर्मलाई चित्रित गर्न माथिका वाक्यहरू लेखिएको हो। 

प्रसङ्ग, उही चर्चित आगलागी काण्डको हो, जुन दुई वर्ष अघि २०७८ जेठ १९ गते भएको थियो। सो दिन पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ मा अवस्थित चौधरी उद्योग ग्रामको सीजी फुडमा आगलागी भएको थियो । उद्योगको बियर प्लान्ट र गोदाममा भएको सो आगलागीका क्रममा भएको क्षतिभन्दा बढी क्षतिपूर्ति बीमा कम्पनीबाट असुल्ने प्रयासमा चौधरी समूह लागेपछि यो विषयले फेरी चर्चा पाएको हो। 

बीमा प्राधिकरण सम्बद्ध समाचार स्रोतका अनुसार सो घटनामा बीमा कम्पनीका सर्भेयरले गरेको क्षतिको मूल्याङ्कन माथि चित्त नबुझेको भन्दै सांसद तथा नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको व्यापारिक समुह चौधरी ग्रुपले प्राधिकरणमा उजुरी दिएको छ। केही महिना अघि नै परेको सो उजुरी उपर प्राधिकरणले हालसम्म कुनै सुनुवाइ भने गरेको छैन। बरु, सूक्ष्म रूपले अध्ययन भने भइरहेको प्राधिकरण स्थित समाचार स्रोतले जानकारी दिएको छ। 

समाचार स्रोतका अनुसार सो उद्योगको बीमा दुई वटा कम्पनीमा गरिएको थियो। उद्योगको मेसिनरी र भौतिक संरचनातर्फको बीमा शिखर इन्स्योरेन्समा गरिएकोमा सो कम्पनीले चौधरी समुहलाई दाबी भुक्तानी गरिसकेको छ। तर, उत्पादित बस्तुको बीमा गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (तत्कालिन सिद्धार्थ इन्स्योरेन्स)सँग भने चौधरीको लफडा परेको हो। सो समुहले बीमा कम्पनीको सर्भेयरले तयार गरेको रिपोर्ट चित्त नबुझेको भन्दै उजुरी दिँदा अहिलेसम्म बीमा कम्पनीले भुक्तानी गर्न नसकेको अवस्था छ। 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससम्बद्ध समाचार स्रोतका अनुसार सर्भेयरले आगलागीमा जलेका र नष्ट भएका सबै बस्तुको मुचुल्का तारे गरि त्यसको मूल्याङ्कनको आधारमा भुक्तानीको सिफारिस गरेको हो। तर, चौधरी पक्षको भने नष्ट नभएका बस्तुलाई पनि नष्ट भएको परिमाणमा समावेश गर्नुपर्ने माग छ। बीमा कम्पनीको भनाई छ, 'जलेजती सामानको हामीले लगत उठाएका हौँ। जुन बस्तु काम लाग्ने अवस्थामा नै थिए त्यसलाई नष्ट भएको भन्न सकिएन/मिलेन। त्यसैले उहाँहरूको चित्त नबुझेको होला।  हामीले जे हो त्यही भन्ने हो। कसलाई कति भुक्तानी चाहिएको छ त्यति नै नष्ट भयो भन्ने होइन।'

उनले अगाडी थपे, 'जे भए पनि सय रुपैयाँको नोक्सान हुँदा हजार रुपैयाँ दाबी भुक्तानी गर्ने कुरा आउँदैन। जे भएको हो त्यो अनुसार तिर्ने हो बीमाले। मागेजति दिँदा त डुबी हाल्छ नि कम्पनी।' 

त्यसो त चौधरी समुहको नियत यो घटनामा सुरु देखि नै खराब थियो।  सिजी ब्रुअरीमा आगलागी हुँदा भएको क्षतिको विवरण नपाएर त्यसै बेला सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सर्भेयरहरु आजित बनेको कुरा त्यसै बेला आर्थिकन्युजले प्रकाशित गरेको थियो। सो कम्पनीको गोदामको बीमा गरेको बीमक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो सर्भेयर क्षतिको विवरण सङ्कलनको लागि घटनास्थल नै गएकोमा  कुनै आधिकारिक  कागजात नपाएर त्यसै बसिरहेको गुनासो त्यसै बेला गरेको थियो। 

त्यसै बेला कम्पनीको तर्फबाट भनाई आएको थियो, "दाबी भुक्तानीको लागि गर्नुपर्ने प्रारम्भिक काम नै सर्भेयरले क्षति विवरण सङ्कलन गर्ने हो। तर, हामीले पठाएको सर्भेयरलाई यतिका दिनसम्म सो उद्योगले कुनै डकुमेन्ट नै दिएको छैन। अनि के को आधारमा काम सुरु गर्ने ? उनीहरूको असहयोगका कारण हाम्रो मान्छे दिक्दार मान्न थालिसक्यो।"

तर, सिजी ब्रुअरीले भने त्यो बेला मिडिया समक्ष समेत झुट बोलेको थियो। घटना भएको दोस्रो दिन नै आर्थिकन्युजसँग कुरा गर्दै सिजी ब्रुअरीका तत्कालीन म्यानेजर रामभक्त केसीले क्षतिको विवरण सङ्कलनका लागि बीमा कम्पनीको सर्भेयर समेत बुधवार नै फिल्डमा पुगेर विवरण तयार गर्नका लागि आवश्यक पर्ने तथ्याङ्कहरू सङ्कलन गरेर काठमाडौँ फर्किएको बताएका थिए । तर, बीमा कम्पनीले कामै तोकेर पठाएको सर्भेयरले कुनै कागजात नपाएको गुनासो त्यसपछि सार्वजनिक भएको थियो। 

त्यसो त यसरी आगलागीबाट भएको क्षतिको दाबी भुक्तानीका क्रममा यसभन्दा अघि नै बदनाम भइसकेको कारण चौधरी समूहले पछिल्लो घटनामा पनि लफडा गरेको हो। पहिले घटनाको मुचुल्का उठाउनेसम्मको प्रक्रियामा उदासीन बनेर पछि मुद्दा मामिलामा लाग्ने चौधरी समुहको पुरानो रोग र खराब प्रवृत्तिका कारण बीमा कम्पनीहरू आजित बन्दै गएका छन्।  

चौधरी समूहले बीमा दाबीको विषयमा बि.स. २०६९ सालमा गुर्जुधारामा भएको यही कम्पनीको गोदाममा आगो लागेको घटनामा पनि मुद्दा मामिला गरेको थियो। यसरी थोरै नोक्सान हुँदा समेत मनलाग्दी दाबी गर्ने गरेको चौधरी समूहबारे एक बीमकको भनाई रोचक छ- खोइ, धन बढी भएपछि बुद्धिमा पनि बिर्को लाग्छ कि क्या हो नत्र जति नष्ट भो त्यति त बीमा कम्पनीले दिन्छु भनेकै छ। दिनै पर्छ। विनोद चौधरीलाई यति कुरा कसले बुझाइ देला !'