शीर्षकहरू

तीन कम्पनीको शेयरमूल्य समायोजन

तीन कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले सिभिल लघुवित्तको फागुन ११ गते कायम अन्तिम शेयरमूल्य रू. ७४९ को आधारमा ११ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ६७४ दशमलव ७७ तोकेको छ । सिभिल लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २८ करोड ८१ लख २४ हजारको आधारमा ११ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले फागुन २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते आइतवार एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले कम्पनीको बोनसपछिको मूल्य तय गरिदिएको हो ।

त्यस्तै फागुन २३ गते ६ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश पारित गर्न लागेको प्रभु इन्स्योरेन्सले साधारण सभा प्रयोजनका लागि तय गरेको बुक क्लोजको आधारमा नेप्सेले बोनसपछिको मूल्य तोकेको छ । प्रभु इन्स्योरेन्सले फागुन १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीको फागुन ११ गते कायम अन्तिम शेयरमूल्य रू. ५५५ दशमलव ९० को आधारमा नेप्सेले ६ दशमलव ७० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ५२० दशमलव ९९ तोकेको हो ।

सबैको लघुवित्तको १८ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ७११ द्यशमलव ८६ तोकेको छ । नेप्सेले कम्पनीको फागुन ११ गते कायम अन्तिम शेयरमूल्य रू. ८४० को आधारमा मूल्य समायोजन गरेको हो । सबैको लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २७ करोडको आधारमा १८ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ९५ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि फागुन १४ गते आइतवार एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरमूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । यी तीन कम्पनीको प्रस्तावित लाभांश बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् ।