शीर्षकहरू

टिठलाग्दो नेपाली सिने बजार र विदेशी फिल्मको लोभलाग्दो व्यापार

टिठलाग्दो नेपाली सिने बजार र विदेशी फिल्मको लोभलाग्दो व्यापार

काठमाडौं । नेपाली सिने बजारमा अहिले दुई वटा सिनेमाको निकै नै चर्चा छ । एउटा हो, हिजो शुक्रबारदेखि प्रदर्शनका आएको ह्यारी कि प्यारी र दोस्रो हो, छक्का पञ्जा ४ ।  जुन प्रदर्शनमा आउनु बाँकी नै छ । 

उल्लेखित दुवै सिनेमाको सफलता र असफलता यिनीहरूले गर्ने सम्भावित व्यापारसँग जोडेर हेरिँदै छ । दोहोर्‍याइरहनु आवश्यक छैन की नेपाली सिनेमाहरूले दर्बिलो कथा पस्किने गरेका छैनन । कुनै फिल्म सफल वा असफल के भयो भन्नका लागि त्यसले कुन स्तरको व्यापार गर्‍यो भन्ने आधारमा हेर्ने गरिन्छ । 

हुन त त्यस्तो नेपालमा मात्र होइन हालै भारतीय फिल्म पठानले पनि व्यापारकै आधामा नयाँ रेकर्ड बनाएका कारण धेरै नै चर्चामा छ । चलेको ९ दिनमै ६ सय १७ करोड भारुको विश्वव्यापी व्यापार गरेको पठानले नयाँ नयाँ रेकर्डहरू बनाइरहेको छ । 

यता नेपालबाट मात्रै यो फिल्मले ६ दिनमै ६ करोड रुपैयाँ कमायो । यो सिनेमाको उल्लेख्य व्यापारपछि जाडोका कारण सिनेमा चल्दैन भन्ने नेपाली सिने व्यापारीहरूको परम्परागत बुझाइलाई समेत गलत साबित भएको छ । 

यसैबिच २० गतेबाट हलहरूमा लागेको सिनेमा ह्यारी की प्यारीले राम्रो व्यापार गर्ने अपेक्षा निर्मातादेखि हलवालासम्मले गरेका छन् । छक्का पञ्जाको टिमबाट बाहिरिएर पहिलो पटक प्रमुख भूमिकामा देखिएका जितु नेपाल र लामो समयदेखि सफल सिनेमा दिन नसकेर निराश बन्दै गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाह दुबैका लागि यो सिनेमा महत्त्वपूर्ण रहेको छ । 

तर, फेरि पनि प्रश्न समग्र नेपाली सिनेमाहरूको कथा वस्तुको हो । कतिपय राम्रा कथाहरूलाई समेत कुशल ढङ्गले प्रस्तुत गर्न नजान्ने नेपाली निर्माता निर्देशकहरुले पस्किएको विर्यदानको विषयवस्तुको वरिपरि घुमेको यो चलचित्रलाई कति न्यायोचितरुपमा पस्किएको दर्शकहरूले स्वीकार्छन त्यो हेर्न धेरै कुर्नु पर्ने छैन । 

त्यस्तै, छक्का पञ्जा टाइटलमा बनेका तीन वटै सिनेमाले दर्शकहरूबाट राम्रै रकम जम्मा गर्न सफल भएपछि चौथो सिक्वेल बनाएको दीपकराज गिरीको टिमको यो फिल्म फागुन १९ गते सिनेमा हलमा लाग्दैछ । केही दिन अघि सार्वजनिक भएको यस फिल्मको दर्शन सलाम बोलको गीत युट्युबमा ट्रेण्ड्रिङ नम्बर १ मा रहेको छ । 

तर, सो गीतका दर्शक पर्याप्त देखिए पनि विरह लाग्दो कुरा के छ भने छन्द मिलाएदेखि बाहेक त्यो गीतमा सुन्न लायक कुनै कुरा छैन । गीतको अर्थ छैन । न कुनै शब्दले सार्थकता नै बोल्छन् । कम्तीमा पनि गीतमा छन्द मिलाउँदा त्यसबाट केही न केही अर्थ आउनेगरि राखिएको हुनुपर्छ । गीत कति बकवास छ भन्ने यसको सुरुको दुई लाइनले नै देखाउँछ:

घिन्ताङ घिन्ताङ मादल मात्रै कति बजाम 

दिल भए नि फलाम

चट्ट माया दर्शन सलाम

गीतका पछिल्ला हरफहरू पनि कुनै अर्थ दिने खालका छैनन । मात्र भद्दा तरिकाले छन्द मिलाइएको छ । तरपनि गीत चलेको छ । निर्माता निर्देशक दङ्ग छन् । सायद महिना दिनपछि सिनेमाको कि पनि राम्रैगरि बिक्री होला । तर, सोचनीय पक्ष यो हो की हाम्रो सिनेमा, सङ्गीत र मनोरञ्जन व्यवसाय कति माथि पुग्ला ? कुन उचाइ हासिल गर्ला यस्ता भद्दा र बेअर्थका शब्द र सङ्गीतको भरमा ।