काठमाडौं । कलाकारहरूले कर तिर्दैनन् भन्ने भाष्य स्थापित भइरहेको र कला क्षेत्र कर नतिरी अवैध रकममा चलिरहेको आरोप लागिरहँदा कलाकार अनमोल केसीले भने आफ्नो चलचित्रको आम्दानीबाट कर बुझाएका छन् ।
उनले पछिल्लो चलचित्र 'फर्की-फर्की'बाट प्राप्त पारिश्रमिकबाट साढे सात लाख कर तिरेको फिल्म निर्माता रोहित अधिकारीले सार्वजनिक गरेका हुन् । रोहित अधिकारी फिल्मर्सको ब्यानरमा बनेको उक्त चलचित्रबाट अनमोलले रु ५० लाख पारिश्रमिक लिएको पनि पुष्टि भएको छ ।
निर्माता अधिकारीले लेखेका छन्, 'फर्की फर्कीमा ५० लाख पारिश्रमिक बुझेबापत स्टार नायक अनमोल केसीले नेपाल सरकार लाई ट्याक्स ७ लाख ५० हजार तिरेका छन् ।'
अनमोलले कर तिरेपछि निर्देशक केपी पाठकले यो राम्रो सुरुवात भएको बताएका छन् । उनले भनेका छन्, 'अनमोलको राम्रो सुरुवात ! यस प्रक्रियाले अब अरुलाई पनि नैतिक दबाब पर्ने छ ।'
कलाकारहरूले महँगो पारिश्रमिक लिने गरेको सार्वजनिक रूपमै बताउँदै आए पनि उनीहरूले कर नतिर्ने गरेको भन्दै आलोचना हुँदै आएको छ । फिल्म क्षेत्र उद्योगका रूपमा स्थापित भइसक्दा पनि अझै धेरै कलाकारहरू करको दायरामा समेटिएका छैनन् ।
अनमोलले कर तिरेर सार्वजनिक गरेसँगै धेरैले राम्रो सुरुवात भएको बताउँदै अब अरुलाई पनि यसले नैतिक दबाब पर्ने प्रतिक्रिया दिएका छन् ।