शीर्षकहरू

माघ २३ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै सुपरमाई हाइड्रोपावर

माघ २३ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै सुपरमाई हाइड्रोपावर

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा भने आईपीओ विक्री गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई विक्री गरेको हो । ५ प्रतिशत दरको २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई समेत बाँडफाँट गरिएको कम्पनीको भनाई छ । अब २ प्रतिशत अर्थात १० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ४ लाख १५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । 

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ । छिटोमा माघ २६ गतेसम्म विक्रीमा रहने यो आईपीओ यस अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा फागुन ८ गतेसम्म विक्रीमा रहने कम्पनीको भनाई छ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ निष्कासन गर्दा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ छिटो अवधि माघ २६ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । 

यस कम्पनीले ७ दशमलव ८ मेगाबाट क्षमताको सुपरमाई जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७५ साल कात्तिक ११ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल लागत निर्माण अवधिको ब्याज सहित रू. १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रहेको छ । आयोजनाको प्रति मेगावाट लागत भने रू. १९ करोड ८ लाख ४८ हजार रहेको छ ।