शीर्षकहरू

वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणमा आईपीओ विक्री गर्दै आत्मनिर्भर लघुवित्त

वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणमा आईपीओ विक्री गर्दै आत्मनिर्भर लघुवित्त

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ जारी गर्ने मिति तय गरेको छ । कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गर्नेछ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । 

सर्वसाधारणमा निष्कासन गरिने कुल कित्ता आईपीओमध्ये माघ १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूमा विक्री गर्न लागेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले फागुन १ गतेसम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ विक्री पछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ सार्वजनिक निष्कासनमा ल्याउनेछ । सर्वसाधारणमा फागुन ११ गतेदेखि आईपीओ विक्री गर्ने मिति कम्पनीले तय गरेको छ ।  

सर्वसाधारणमा आईपीओ विक्री खुला हुने मिति छिटोमा फागुन १५ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि फागुन २५ गतेसम्म विक्री लम्बिने मिति तय भएपनि कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले पनि कम्पनीको आईपीओ छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित देखिएको हो । यो आईपीओ खरीदका लागि दुबै समूह अन्तर्गतका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । 

साथै मेरो  शेयर सफ्वेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष ०७७÷७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ ।