शीर्षकहरू

उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक न्यौपानेको पदावधि थप

उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक न्यौपानेको पदावधि थप

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पदावधि थप भएको छ । नेपाल सरकारको पूर्णस्वामित्व रहेको उक्त उद्योगमा  दुई वर्षे कार्यकालको लागि नियुक्त भएका महाप्रबन्धक न्यौपानेलाई पुनः एक वर्षको लागि पदावधि थप गरिएको हो । 

२०७७ साल पुष २० गतेको मन्त्रीपरिषद्को निर्णयले उद्योगको महाप्रबन्धकको रूपमा न्यौपानेलाई नियुक्त गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सरकारी उद्योग तथा संस्थान शाखाले बुधवार न्यौपानेलाई एक वर्षको कार्यकाल थप गरेको पत्र पठाएको छ ।    

न्यौपानेको पदावधि थप गरिएको सम्बन्धी पत्रमा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/०९/२० को निर्णय अनुसार उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदमा २ वर्षको लागि तपाइलाई नियुक्त गरिएकोमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्त तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को अनुसूची ४ को क्रम सङ्ख्या १ र सोही निर्देशिकाको दफा ५ को व्यवस्था बमोजिम तपाइको पदावधि सुरु नियुक्तको निर्णय २०७७/०९/२० बाटै लागू हुनेगरि तीन वर्षको कायम गरिएको ब्यहोरा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/०६/०७ को निर्णयअनुसार अनुरोध गरिन्छ ।’  

आफ्नो पदावधि एक वर्षको लागि थप गरिएको पत्र आएको न्यौपानेले पुष्टि गरे । उनले आर्थिक न्युजसँग भने, ‘म दुई वर्षको कार्यकालको लागि महाप्रबन्धक पदमा नियुक्त भएको थिए । मैले गरेको कामलाई हेरेर सरकारले एक वर्षको लागि पदावधि थप गरेको पत्र आज पाएको छु । भोलिका दिनमा उद्योगलाई अझै राम्रो गरेर लैजाने छु ।’   

त्यस्तै, उनले आगामी दिनमा उद्योगलाई थप नाफामा लैजाने गरी काम गर्ने बताए । न्यौपानेले भने, ‘उदयपुर सिमेन्ट उद्योगलाई नाफामा लैजाने गरी काम गरिरहेका छौँ । हामीलाई बजारको समस्या छैन । पुरानो जीर्ण मेसिनहरू फेर्नु पर्ने मात्रै समस्या हो । ती जीर्ण मेसिनहरू फेर्न सक्यौँ भने उद्योग थप अगाडी बढ्न सक्छ । यसका लागि तीन वर्षपछि उद्योगले फिर्ता गर्ने सर्तमा सरकारसँग थप लगानीको माग गरेका छौँ । अर्थ मन्त्रालयले उक्त पैसा दियो भने उद्योगलाई थप नाफामा लैजान्छौँ ।’ 

स्मरण रहोस्, लगातार घाटामा जाँदै आर्थिक वर्ष २०७६/७७ सम्म साढे पाँच अर्ब सञ्चित नोक्सानी यस उद्योगले व्यहोरेको थियो । तर, महाप्रबन्धकका रूपमा न्यौपाने त्यहाँ पुगेपछि यसले नयाँ गति लिएको हो । पहिले दैनिक चार हजार बोराभन्दा कम सिमेन्ट उत्पादन गर्दै आएकोमा उनले आर्थिक वर्ष २०७८/७९ मा सात हजार चार सय बोरा सिमेन्ट उत्पादन गरे । फलस्वरूप गएको आर्थिक वर्षमा त यो उद्योगले नाफा नै कमाएको थियो ।    

'सरकारले पहल गरोस्, बिहारलाई क्लिंकर बेचेर कमाल गर्छौं'

उदयपुर सिमेन्ट उद्योगमा लक्ष्यभन्दा बढी उत्पादन, बिक्री पनि बढ्यो

उदयपुर सिमेन्टमा न्यौपानेको एकवर्षः क्लिंकर उत्पादन, सिमेन्ट बिक्री र राजश्व योगदानमा छलाङ