शीर्षकहरू

पहिलो दिन कालिञ्चोक दर्शनको आईपीओ वैदेशिक रोजगारीमा गएका कतिले भरे ?

पहिलो दिन कालिञ्चोक दर्शनको आईपीओ वैदेशिक रोजगारीमा गएका कतिले भरे ?

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा पहिलो दिन ८३ जना बैदेशिक रोजगारीमा गएका नेपालीहरूबाट आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट ४३ हजार ६०० कित्ता शेयर खरीद माग भएको हो । कम्पनीले सर्वसाधारणमा जारी हुने १० लाख ८० हजार कित्ता शेयरमध्ये १० प्रतिशत दरको १ लाख ८ हजार कित्ता आरक्षण स्वरुप वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री खुला गरेको हो । पहिलो दिन ४० दशमलव ३७ प्रतिशत शेयर खरीद माग भएको जानकारी सिडिएससीले दिएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूसँगै मंसिर १४ गतेदेखि आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ जारी गरेको हो । स्थानीयबाट संकलन भएको आईपीओको तथ्याङ्क भने कम्पनीले सार्वजनिक गरेको छैन् । कम्पनीले १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि निष्कासन गरेको छ । 

आयोजना प्रभावित स्थानीयमा निष्कासन हुने यो आईपीओ छिटोमा मंसिर २८ गते र ढिलोमा पुस १४ गतेसम्म विक्रीमा रहनेछ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने मंसिर २८ गतेसम्म मात्र आवेदन दिनुपर्नेछ । दुबै समूहका लगानीकर्ताका लागि यो आईपीओ खरीदमा न्यूनतम १० कित्ताको सीमा तोकिएको छ । स्थानीयले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम १० हजार ८०० कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्न सक्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सकिनेछ । 

साथै मेगा बैंक, सेञ्चुरी बैंक दोलखाको तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट यो आईपीओ खरीद गर्न सकिने व्यवस्था छ । यस कम्पनीले दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३ हजार ८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार सञ्चालन गरिरहेको छ । गत चैत १५ गते आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको कम्पनीले कात्तिक २३ गते निष्कासनको लागि अनुमति पाएको हो ।