शीर्षकहरू

‘आगामी बजेटले नीतिगत फड्को मारेमा कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सकिन्छ’

‘आगामी बजेटले नीतिगत फड्को मारेमा कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सकिन्छ’

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेटमा केन्द्रित भइ पूर्व अर्थमन्त्री फोरमको बैंठक सम्पन्न भएको छ । देशको वर्तमान आर्थिक अवस्था चुनौतिपूर्ण बन्दै गइरहेको सन्दर्भमा नीतिगत तथा क्षेत्रगत सुधारमा फड्को मार्नुपर्नेमा सहभागीहरुको जोड रहेको छ । 

बैंठकमा दिगो आर्थिक विकासका लक्ष्यहरुको प्राप्ति, दिगो लगानी प्रवद्र्धन, नीतिगत सुधार, कृषि क्षेत्रको सुधार तथा प्रवद्र्धन, शिक्षा, पर्यटन, निर्यात प्रबद्र्धन, पूँजिगत खर्च वृद्धिलगायतका महत्वपूर्ण विषयहरुमा आगामी बजेटमार्फत कसरी सम्बोधन गर्ने/गराउने भन्ने विषयहरुमा व्यापक छलफल तथा अन्तरक्रिया भएको थियो । 

आगामी बजेटको आकार बढाउदा विचार गर्नुपर्ने र मुलुकको खर्च व्यवस्थापनमा संतुलन कायम गर्नुपर्नेमा जोड दिईएको छ । साथै सामाजिक सुरक्षामा खर्च बढ्दै गइरहेकोले राष्ट्रिय सहमतिका आधारमा व्यवस्थापन गर्दै जानुपर्ने, उत्पादकत्व वृद्धिमा जोड दिँदै निर्यात प्रबद्र्धन गर्नुपर्ने, प्रोत्साहनसहित विप्रेषणलाई बैंकिङ च्यानलबाट व्यवस्थित तथा बढवा दिने गरी आकर्षित गराइनुपर्ने निर्देशित लगानीका विषयमा पुनर्विचार गर्ने जस्ता महत्वपुर्ण विषयहरुमा बैंठकमा सहभागी विज्ञहरुले सुझाव प्रस्तुत गरेका छन् ।   

त्यसैगरी कृषि तथा वन क्षेत्रको विकासका लागि जैविक विविधतालाई ध्यान दिइ प्रवद्र्धन गरिनुपर्ने विषयमा बैंठकमा छलफल भएको थियो । स्थानीय सरकारलाई बलियो बनाइ स्थानीय घरेलु, साना तथा मझौला व्यवसायलाई स्तरोन्नति गर्दै आवश्यक पूर्वाधारहरुको निर्माण, (कस्टम हायरिङ सेन्टर, कोल्ड स्टोरेज, एग्रो प्रोसेसिङ जोन, भण्डारण, बजार व्यवस्थापन) रोजगारी तथा उत्पादन वृद्धिमा बैंठकमा विशेष जोड दिइएको थियो ।  

आगामी बजेटले नीतिगत सुधारमा फड्को मार्न सक्यो भने मात्र वर्तमान अवस्थामा देखिएको कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सकिने बैंठकको निष्कर्ष रहेको फोरमका सदस्य सचिव माननीय बिमल केडियाले बताए । उनले फोरमको बैंठकमा प्राप्त भएका रायसुझावहरुलाई लिपिबद्ध गरी माननीय अर्थमन्त्रीज्यूसँग प्रत्यक्ष भेटघाट गरी बुझाइने बताए ।

बैशाख १४ गते सम्पन्न फोरमको उक्त बैंठकमा पूर्व अर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, डा. रामशरण महत, बर्षमान पुन, डा. युवराज खतिवडासहित फोरमका सदस्य–सचिव विमल केडिया, पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व सचिव शंकर अधिकारी, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यान र वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहलगायतको उपस्थिति रहेको थियो ।