शीर्षकहरू

एनसेल एसियन टेलिकम अवार्ड २०२२ बाट सम्मानित

एनसेल एसियन टेलिकम अवार्ड २०२२ बाट सम्मानित

काठमाडौं । एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएका हुन् ।

सिंगापुरमा अवस्थित ‘एसियन मोबाइल न्युज’ले सन् २००३ देखि ‘एसियन टेलिकम अवार्ड’ प्रदान गर्न सुरु गरेको थियो । यस अवार्ड कार्यक्रमले एसियाका अग्रणी दूरसञ्चार कम्पनीका उत्कृष्ट उपलब्धि र पहललाई मान्यता दिँदै पुरस्कृत गर्छ । यस अवार्डअन्तर्गत विभिन्न विधाका विजयी कम्पनीलाई हालै एक भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको थियो ।  

कोभिड–१९ महामारीले हरेक क्षेत्रलाई असर गरिरहँदा टेलिकम कम्पनीहरूले ग्राहकलाई सञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न र प्रतिस्पर्धामा रहिरहन विभिन्न सुविधा र योजना लागू गरे । बजारमा विभिन्न चुनौतीका बीच उत्कृष्ट प्रदर्शन गर्ने एसिया प्यासेफिक क्षेत्रका कम्पनीहरूलाई ‘एसियन टेलिकम अवार्ड २०२२’ले सम्मान गरिएको आयोजकले जनाएको छ । 

नेपालमा भरपर्दो सेवा प्रदान गर्नुका साथै कोभिड–१९ को महामारीमाझ देशभर विभिन्न आमसञ्चारमाध्यम तथा आफ्नै नेटवर्क प्रयोग गरी सरकारलाई जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको  हो । त्यस्तै, सरकारको डिजिटलाइजेसन योजनाको मेरुदण्डका रूपमा रहने विश्वस्तरीय डेटा सेन्टर स्थापनाका लागि एनसेललाई ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ पुरस्कारबाट सम्मानित गरिएको हो ।  

“प्रतिष्ठित एसियन टेलिकम अवार्ड २०२२ का दुई विधाबाट सम्मानित हुन पाएकोमा हामी अत्यन्तै हर्षित छौं । यो सम्मानले देश र जनताका लागि हामीले गरेका पहलकदमी र योगदानलाई प्रमाणीकरण गरेको छ । हामीले सन् २०२० देखि कोभिड–१९ महामारीविरुद्ध गरेका काम र डिजिटलाइजेसन यात्रामा हाम्रो निरन्तर योगदानको सम्मान पनि हो, ‘एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, “हाम्रा उपलब्धिहरू हामीले स्थापित गरेका बलिया आधारका कारण सम्भव भएका हुन् । म सम्पूर्ण कर्मचारीलाई समर्पण र उत्कृष्ट कामका लागि धन्यवाद दिन चाहन्छु ।’ 

सरकारलाई कोरोनाभाइरस रोकथामका लागि ‘कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० करोड योगदान गर्ने एनसेल पहिलो निजी क्षेत्रको कम्पनी हो । कम्पनीले  आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोभिड–१९ महामारीको रोकथामको लागि जनसचेतना अभिवृद्घि गर्ने काम गरेको छ ।  

पूर्वाधारको क्षेत्रमा एनसेलले भूकम्पीय जोखिमको दृष्टिकोणबाट अतिसंवेदनशील मानिने काठमाडौं उपत्यकामा विश्वस्तरीय ‘टियर थ्री’ मापदण्डको ‘इन्टिग्रेटेड डेटा सेन्टर’ स्थापना गरेको छ । यो पूर्वाधारले भूकम्पको विपद्का बेलामा पनि भरपर्दो सेवा प्रवाहमा योगदान पुर्याउनेछ । यस किसिमको आधुनिक डेटा सेन्टर पूर्वाधार विकासका हिसाबले दक्षिण एसियाकै पहिलो हो । यो पूर्वाधार हालसम्म कम्पनीले ठूलो लगानी गरेका आयोजनामध्ये एक हो । यसले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनमा सहयोग पु¥याउँदै डिजिटल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान गर्नेछ ।