काठमाडौं । गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजाबादीहरुको आन्दोलानबाट श्रृजीत घटनाबाट बीमा कम्पनीहरुमा ५ करोड रुपैयाँको दाबी पेश भएको छ । चैत २६ गतेसम्म १२ वटा निर्जीवन बीमा कम्पनीहरुमा ५० वटा दाबी पेश भएको छ ।
१२ वटा कम्पनीमध्ये हालसम्म शिखर इन्स्योरेन्सले मात्रै दाबी भुक्तानी दिएको छ । शिखरमा सम्पत्ति बीमा अन्तर्गत २ वटा, मोटर अन्तर्गत २ र विविध अन्तर्गत १ गरी कुल ५ वटा दाबी पेश भएको छ । शिखरमा उक्त ५ वटा पोलिसिको ४ लाख ९८ लाख रुपैयाँको दाबी पेश भएको थियो । उक्त सबै रकम शिखरले भुक्तानी गरिसकेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार शिखरले यसरी सबै दाबी भुक्तानी गर्दा अन्य ११ कम्पनीले भने हालसम्म एक रुपैयाँ पनि भुक्तानी दिएका छैनन् ।
उक्त हुलदंगाबाट सबैभन्दा धेरै दाबी राष्ट्रिय बीमा कम्पनीमा पेश भएको छ । राष्ट्रिय बीमा कम्पनीमा १ करोड २७ लाख रुपैयाँको दाबी पेश हुँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ करोड १७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७५ लाख र नेको इन्स्योरेन्समा ५२ लाख रुपैयाँ दाबी पेश भएको छ ।
सबैभन्दा धेरै दाबी सम्पत्ति बीमा अन्तर्गतको रहेको छ । सम्पत्ति अन्तर्गत ३ करोड १९ लाख मोटर बीमा अन्तर्गत १ करोड ६ लाख रुपैयाँको दाबी पेश भएको छ ।