काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमालले कम्पनीले राम्रो व्यापार गरिरहेको बताएका छन् । कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड पश्चात पत्रकारसँगको कुराकानीमा उनले कम्पनीले राम्रो व्यापार गरेको उल्लेख गर्दै आगामी २ वर्षभित्र लाभांश वितरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
हाल नेपालमा लघु निर्जीवन व्यवसाय सञ्चालनका लागि ४ वटा बीमा कम्पनीहरु रहेका छन् । हाल नेपालमा नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टीभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रष्ट माइक्रो इन्स्योरेन्स गरेर ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरु रहेका छन् । सीईओ रिमालका अनुसार उक्त कम्पनीहरुमध्ये नेपाल माइक्रोले तुलनात्मक रुपमा राम्रो व्यवसाय गरिरहेको छ ।
यस्तै, उनले आगामी दिनमा व्यवसाय अझै विस्तार कम्पनी गर्दै अघि बढने बताए । नेपालमा आर्थिक मन्दीको असर रहेको विज्ञहरुले बताउँदै आएका छन् । मन्दीको असर बीमा क्षेत्रमा पनि देखा परेको उनको भनाई छ । लघु बीमा कम्पनीको मुख्य व्यापार भनेकै बैंक तथा वित्तीय संस्था हो ।
बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा वृद्धि हुँदा लघु बीमा कम्पनीको पनि व्यापार वृद्धि हुने उनको भनाई छ । गत वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुले अघिल्ला वर्षहरुको तुलनामा कर्जा विस्तार गर्न सकिरहेका छैनन् । त्यसको असर लघु बीमा कम्पनीहरुमा पनि परेको उनको भनाई छ । तर, पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा ग्राहक बढ्दै गएकाले बीमा क्षेत्रको पनि व्यापार वृद्धि हुनेमा उनी आशावादी देखिए ।
लघु बीमा कम्पनीहरूको अवधारणा नै समावेशी वर्गमा बीमाको पहुँच पुर्याउनु हो । गरिब, निमुखा, सिमान्तकृत, पिछडीएको क्षेत्रमा बीमाको पहुँच पुर्याउनु हो । ति वर्ग तथा क्षेत्रमा पहुँच पुर्याउने उद्यश्यले कम्पनी अघि बढीरहेको उनको भनाई छ । हाल नेपाल माइक्रोले कृषि, समूहिक दुर्घटना, सम्पत्ती, मोटर, सामुद्रिक बीमा पोर्टफोलियोको व्यपार गरिरहेको उनले जानकारी दिए ।
तर, कम्पनीले कुन कुन प्रोडक्टमा काम गरिरहेको छ भन्ने भन्दा पनि सबै पोर्टफोलियो समान रुपमा व्यापार गरिरहेको छ भन्ने विषय महत्वपूर्ण हुने उनको भनाई छ ।
कम्पनीको झलक
चितवनको भरतपुर महानगरपालिकामा केन्द्रीय कार्यालय रहेको नेपाल माइक्रोले २४ वटा कार्यालय विस्तार गरिसकेको छ । काठमाडौंमा प्रादेशिक कार्यालय सहित ९ शाखा, २ उप शाखा तथा १३ एक्स्टेन्सन काउण्टरहरू मार्फत आफ्नो व्यवसाय नेपाल भर संचालन गर्दै आइरहेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १० करोड १० लाख रुपैयाँ बढीको व्यपार गरेको छ । जसमध्ये मोटर बीमा पोर्टफोलियोबाट मात्रै ९ करोड ७१ लाख रपैयाँ बढीको व्यपार गरेको छ । मंसिर मसान्तसम्म दीर्घकालिन रुपमा ९० करोड र अल्पकालिन रुपमा ४२ करोड गरी कुल १ अर्ब ३२ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । कम्पनीको सल्भेन्सी रेसियो १.९५ प्रतिशत र प्रति शेयर आम्दानी ०.०९ रुपैयाँ रहेको छ ।
कम्पनीले क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेड, काठमाडौंबाट गत भदौमा क्रेडिट रेटिङ्ग गराएको थियो । जहाँ कम्पनीले "CARE - NP BB (Is)" प्रमाणपत्र प्राप्त गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ ।
कम्पनीको अधिकृत पुँजी १ अर्ब रुपैयाँ, जारी पुँजी ७५ करोड रुपैयाँ र चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेकोमा आईपीओ मार्फत २२ करोड ५० लाख संकलन गरेसँगै चुक्ता पुँजी ७५ करोड पुगेको छ । चुक्ता पुँजीमध्ये संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र सर्वसाधारण सेयरधनी हिस्साको ३० प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा ७० लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले आव २०८२/८३ सम्म १ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०८३/८४ सम्म १ करोड ५७ लाख ८८ हजार रुपैयाँ कमाउने उल्लेख गरिएको छ ।