काठमाडौं। ट्रेड टावर लिमिटेडले वहिलो चरणको आईपीओ वैशाख ८ गतेबाट निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि वैशाख ८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ जारी गर्न अनुमति पाएको थियो । सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम् १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
ट्रेड टावर लिमिटेडले गत वर्ष (सन् २०२४) मा ११ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । जुन सन् २०२३ को भन्दा २३.३३ प्रतिशत धेरै हो । सन् २०२३ मा यस कम्पनीले ९ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।
सन् २००७ मा स्थापना भएको ट्रेड टावर लिमिटेड एक सार्वजनिक लिमिटेड कम्पनी हो । जुन लिजिङ, वित्तीय लगानी र पूर्वाधार विकास सम्बन्धी गतिविधिहरुमा संलग्न छ ।
टावरको पहिलो परियोजना ‘ट्रेड टावर थापाथली’ सन् २०११ को अप्रिलदेखि सञ्चालनमा आएको व्यावसायिक भवन हो । यसले दोस्रो परियोजना अन्तर्गत गौशालामा रहेको ट्रेड टावरलाई गौशालालाई पुनःविकास गरी होटेल क्रिस्टल पशुपति नामक ३ तारे होटल निर्माण गरेको छ । होटलले सन् २०२४ को मध्य अप्रिलदेखि आंशिक रुपमा सञ्चालन सुरु गरेको छ ।