काठमाडौं । ट्याक्सीलाई तीन वर्गका वर्गीकरण गरिने भएको छ । साधारण, विशेष र विशिष्ट गरी तीन श्रेणीमा विभाजन गरिने भएको छ । सरकारले टयाक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ट्याक्सीको आकार, यान्त्रिक क्षमता, सुरक्षा विशेषता तथा उपलब्ध सुविधाको स्तर लगायतका आधारमा ट्याक्सी वर्गीकरण गरिनेछ ।
ट्याक्सीको वर्गका कायम गर्नका लागि नेपाल भित्र्याएका सवारीधनीले यातायात विभागमा निवेदन दिनुपर्नेछ । सवारीको चेकजाँच गरी विभागले वर्ग कायम गर्नेछ । वर्ग कायम गरेको प्रमाणपत्र सवारीधनीलाई दिनुपर्नेछ । वर्ग कायम गर्नका लागि विभागले भौतिक रुपमा नै चेकजाँच गर्नुपर्नेछ ।
वर्ग कायम गरिएपछि ट्याक्सीले तोकिए बमोजिमको खुलेको संकेत चिन्ह टाँस्नुपर्नेछ । प्रत्येक ट्याक्सीको छतमा अगाडि र पछाडिबाट देखिने गरी सूचक संकेत बत्ती राख्नुपर्नेछ ।
यो मापदण्ड लागू हुनु अघि दर्ता भएका ट्याक्सी पनि विशेष वा विशिष्ट वर्गका कायम गराउन सक्नेछन् । यसका लागि आफूले दाबी गरेको वर्ग सहित विभागमा निवेदन दिनुपर्नेछ । विभागले ट्याक्सीले चेकजाँच गरी वर्ग निर्धारण गर्न सक्नेछ । निर्धारण गरिएको प्रमाणपत्र ट्याक्सी धनीलाई दिनुपर्नेछ । विशेष वा विशिष्ट वर्गको दाबी नगर्ने ट्याक्सी स्वतः साधारण ट्याक्सीमा सूचीकृत हुनेछन् ।
त्यस्तै, हाल सञ्चालनमा भएमा ट्याक्सीले आगामी ६ महिना भित्रमा आफ्नो वर्ग निर्धारण गर्नुपर्नेछ । मापदण्ड अनुसार आफ्नो वर्ग नछुट्याएमा सवारी दर्ता गर्ने कार्यालय वा अन्य अधिकार प्राप्त कार्यालयबाट जाँच पास प्रमाणपत्र तथा बाटो इजाजतपत्र जारी, नवीकरण नहुने मापदण्डमा उल्लेख छ ।
ट्याक्सीमा सिसिटिभी देखि एसी जडान गरिएको हुनुपर्नेछ
सरकारले जारी गरेको ट्याक्सी मापदण्ड अनुसार ट्याक्सीको वर्गीकरण अनुसारको उपकरण र सुविधा उपलब्ध हुनुपर्नेछ ।
आन्तरिक दहन इन्जिन जडित साधारण ट्याक्सीमा इन्जिन डिस्प्लेसमेन्ट भोल्युम हजार सिसि वा सो भन्दा माथिको हुनेछ । विद्युतीय सवारीको ब्याट्रीमा संचित हुने उर्जा र सवारीको कुल भार बीचको न्यूनतम् अनुपात ०.०१५ हुनुपर्नेछ ।
साधारण ट्याक्सीको अधिकतम इन्जिन वा मोटर शक्ति ४० किलोवाट वा सो भन्दा माथिको हुनुपर्नेछ । अधिकतम इन्जिन वा मोटर टर्क ६५ न्यूटन मिटर वा सो भन्दा माथिको हुनेछ । व्हील बेस २३ हजार मिमि वा सो भन्दा माथिको हुनेछ । बुट स्पेश (मालसमान राख्ने क्षमता) १६० लिटर वा सो भन्दा माथि हुनेछ ।
आन्तरिक दहन इन्जिन जडित विशेष ट्याक्सीमा इन्जिन डिस्प्लेसमेन्ट भोल्यूम १२०० वा सो भन्दा माथिको हुनेछ । विद्युतीय सवारीमा भने व्याट्रीमा संचित हुने उर्जा र सवारीको कुल भार बीचको न्यूनतम अनुपात ०.०१९ हुनेछ ।
अधिकतम इन्जिन वा मोटर शक्ति ५० किलोवाट वा सो भन्दा माथिको हुनेछ । अधिकतम इन्जिन वा मोटर टर्क ८० न्यूटन मिटर वा सोभन्दा माथिको हुनेछ । व्हील बेस २५०० मिमि वा सो भन्दा माथिको हुनेछ । बुट स्पेश २०० लिटर वा सो भन्दा माथिको हुनेछ ।
त्यस्तै, टच स्क्रीन हितको डिस्प्ले स्क्रीन कम्तीमा एउटा हुनुपर्नेछ । सवारी निर्माता कम्पनी बाहेक अन्य पक्षले जडान गरेको डिस्प्ले समेत मान्य हुनेछ । विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल हुनुपर्नेछ । जाडो गर्मी सबै मौसमको लागि उपयुक्त हुने वातानुकूलित प्रणाली हुनुपर्नेछ ।
आन्तरिक दहन इन्जिन जडित विशिष्ट ट्याक्सीमो इन्जिन डिस्प्लेसमेन्ट भोल्युम २ हजार सिसि वा सो भन्दा माथिको हुनुपर्नेछ । विद्युतीय सवारीको ब्याट्रीमा संचित हुने उर्जा र सवारीको कुल भार बीचको न्यूनतम अनुपात ०.०२५ हुनेछ ।
अधिकतम इन्जिन वा मोटर शक्ति १०० किलोवाट वा सो भन्दा माथिको हुनेछ । अधिकतम इन्जिन वा मोटर टर्क १७० न्यूटन मिटर वा सो भन्दा माथि हुनेछ । व्हील बेस २७०० मिमि वा सो भन्दा माथिको हुनेछ । बुट स्पेश ४०० लिटर वा सो भन्दा माथिको हुनेछ ।
विद्युतीय स्विचबाट खुल्ने र बन्द हुने झ्याल हुनुपर्नेछ । जाडो गर्मी सबै मौसमको लागि उपयुक्त हुने हावाको गुणस्तर नियन्त्रण सहितको स्वचालित वातावरण नियन्त्रण क्षमताको वातानुकूलित प्रणाली हुनुपर्नेछ । पछाडिको सीटको लागि समेत वातानुकूलित हावा प्रवाह ठाउँ हुनुपर्नेछ । पछाडिको सीटमा शिर अड्याउने हेड रेष्ट, पछाडिको यात्रुको लागि हात अड्याउने आर्म रेष्ट, कप होल्डर, मोबाइल तथा अन्य विद्युतीय उपकरणहरू चार्ज गर्न डिसि वा एसी पावर आउटलेट हुनुपर्नेछ ।
ट्याक्सीमा इन्टरनेटको सुविधा हुनुपर्नेछ । सवारी निर्माता कम्पनी बाहेक अन्य पक्षले जडान गरेको डिस्प्ले तथा वाईफाई इन्टरनेट सुविधा समेत मान्य हुनेछ । अगाडि वा पछाडिको शिर र खुट्टा राख्ने ठाउँ १००० मिमि र ९५० मिमि हुनुपर्नेछ ।
विशिष्ट वर्गको ट्याक्सीले दोब्बर भाडा लिन पाउने
ट्याक्सी मापदण्ड अनुसार विशिष्ट वर्गका ट्याक्सीले दोब्बर भाडा लिन सक्नेछन् । विशिष्ट वर्गको ट्याक्सीको अधिकतम भाडादर साधारण वर्गको ट्याक्सीको भन्दा १०० प्रतिशत बढी हुन सक्ने मापदण्डमा उल्लेख छ ।
विशेष वर्गको ट्याक्सीको भाडादर साधारण ट्याक्सीको भन्दा २० प्रतिशत बढी हुन सक्नेछ । साधारण ट्याक्सीको अधिकतम भाडादर अधिकार प्राप्त निकायले तोक्नेछ ।
प्रत्येक ट्याक्सी चालकले ट्याक्सी चलाउँदा रेफलेक्टिभ ज्याकेट लगाएको हुनुपर्नेछ । ट्याक्सीमा प्रिन्टर सहितको डिजिटल भाडा मिटर र डिस्प्ले सहितको जिपिएस न्याभिगेसन प्रणाली जडान गरिएको हुनुपर्नेछ ।
मापदण्डमा इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ । प्रत्येक ट्याक्सीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको हुनुपर्नेछ । ट्याक्सीको छतमा पहेंलो रङ्ग लगाइएको हुनुपर्नेछ । सुरक्षाका लागि एन्टी लक, एयर ब्याग, हाई स्पीड अलर्ट, सिट बेल्ट, पाकिङ्ग सेन्सर, सिसि टिभी क्यामरा हुनुपर्नेछ ।