शीर्षकहरू

युक्रेन र रुसबीच ३० दिने युद्धविरामको सहमति

युक्रेन र रुसबीच ३० दिने युद्धविरामको सहमति

काठमाडाैं । युक्रेन र रुसबीच तीन वर्षदेखि जारी युद्धलाई कम्तीमा ३० दिनका लागि रोक्ने सहमति भएको छ। अमेरिकाको मध्यस्थतामा साउदी अरबको जेद्दाहमा भएको उच्चस्तरीय वार्तापछि यो सहमति भएको हो। युक्रेनले अमेरिकाको प्रस्तावअनुसार तत्काल ३० दिने युद्धविराम स्वीकार गरेको छ, र अब यो प्रस्ताव रुसले पनि स्वीकार गर्नुपर्नेछ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो कदमलाई सकारात्मक भन्दै रुसलाई पनि युद्धविरामका लागि सहमत हुन आग्रह गरेका छन्। उनले भने, “हामी यो कदम चाल्न तयार छौं। यदि रुस सहमत भएमा, युद्धविराम तुरुन्तै लागू हुनेछ।” जेलेन्स्कीले यो अवधिमा शान्ति र दीर्घकालीन सुरक्षाको लागि आवश्यक कागजात तयार गर्न सकिने बताए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तापछि भने, “अब बल रुसको पोल्टामा छ। हामीले युक्रेनसँग सहमति गरिसकेका छौं, र रुसले पनि यो प्रस्ताव स्वीकार गरेमा युद्ध अन्त्यको बाटो खुल्नेछ।” अमेरिकाले युद्धविरामको प्रस्ताव रुससमक्ष पेश गर्नेछ, र राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यसै हप्ता कुराकानी गर्ने योजना बनाएका छन्।

यस सहमतिसँगै अमेरिकाले युक्रेनलाई सैन्य सहायता र गुप्तचर जानकारी उपलब्ध गराउने निर्णय पनि गरेको छ, जुन गत हप्ता रोकिएको थियो। यो कदमले युक्रेनको रक्षा क्षमतालाई बलियो बनाउने अपेक्षा गरिएको छ।

रुसले भने अहिलेसम्म यो प्रस्तावबारे औपचारिक जवाफ दिएको छैन। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले आगामी दिनमा अमेरिकी प्रतिनिधिसँग सम्पर्क नहटाउने संकेत दिएकी छन्। यद्यपि, रुसले विगतमा युद्धविरामको विरोध गर्दै आफ्नो “दीर्घकालीन सुरक्षा” सुनिश्चित गर्ने सर्त राख्दै आएको छ।

यो सहमतिलाई युरोपेली नेताहरूले स्वागत गरेका छन्। बेलायती प्रधानमन्त्री केयर्स स्टार्मरले यसलाई “उल्लेखनीय सफलता” भन्दै ट्रम्प र जेलेन्स्कीलाई बधाई दिएका छन्। उनले रुसलाई पनि युद्धविराम स्वीकार गर्न आह्वान गरे।

युक्रेन र रुसबीच सन् २०२२ फेब्रुअरीमा सुरु भएको पूर्ण युद्धले ठूलो जनधनको क्षति पुर्‍याएको छ। रुसले हाल युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा राखेको छ। यो युद्धविरामले शान्तिको सम्भावना देखाए पनि दीर्घकालीन समाधानका लागि थप वार्ताको आवश्यकता रहेको विश्लेषकहरूले बताएका छन्।