काठमाडौं । ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडको आईपीओ फागुन २७ गतेदेखि खुल्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि फागुन २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको प्रति शेयर १०० अंकित दरका कूल १८ लाख कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कम्पनीले निष्काशन गरिसकेको छ । यसैगरी ३ प्रतिशत अर्थात ५४ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ९० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याएको थियो । बाँकी रहेको १४ लाख ७६ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।
उक्त आईपीओमा चैत्र ३ गतेसम्म आवेदन दिन सकिने छ। न्यूनतम् १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।