काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नियम मिचेर अभिकर्तालाई कर्जा प्रवाह गरेको पाइएको छ । सवारी साधन, एडभान्स र घर कर्जाको नाममा कम्पनीले अभिकर्ताहरुलाई कर्जा वितरण गरेको पाइएको हो ।
बीमा ऐनले अभिकर्तालाई कर्जा दिन सकिने कुनै व्यवस्था गरेको छैन । तर, ऐनले कर्जा दिन नसकिने भन्ने कहि कतै उल्लेख नगरेको भन्दै बीमा कम्पनीहरूले अभिकर्तालाई कर्जा वितरण गर्दै आएका थिए । तर, कर्जा लिएका अभिकर्ता कम्पनी छोडेर सम्पर्क विहीन हुन थालेपछि कम्पनीहरूलाई कर्जा असुलीमा हम्मे हम्मे परेको थियो ।
कम्पनीहरूमा देखिएको यस्तो बेथिति रोक्न प्राधिकरणले २०७८ सालमा सबै कम्पनीलाई पत्राचार गरी कुनै पनि शीर्षकमा कर्जा नदिन निर्देशन दिएको बीमा प्राधिकरणका कानून तथा नियमन महाशाखा प्रमुख उप निर्देशक शाम्भराज लामिछानेले बताए । ‘कम्पनीहरूलाई अभिकर्तालाई कुनै पनि शीर्षकमा कर्जा नदिनु भनेर पत्राचार गरिएको हो । कम्पनीहरुले इन्सेन्टिभका रुपमा सुविधाहरु दिए पनि कर्जा नै भनेर दिन भने पाइँदैन,’ उनले भने । यस अघि कर्जा दिइएको भए पनि जति सक्दो छिटो संकलन गर्न प्राधिकरणले निर्देशन दिएको थियो ।
बीमा कम्पनीहरूले भने अभिकर्तालाई सुविधाको नाममा सवारी साधन दिने गरेको उनले स्वीकारे । ती सवारी साधन भने कम्पनीको नाममा नै हुने हुँदा रकम जोखिम नहुने उनले बताए । तर, एडभान्स र घर कर्जा भनेर कहि कतै दिन नपाइने उनले बताए ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले प्राधिकरणको निर्देशन उल्लंघन गर्दै अभिकर्तालाई कर्जा वितरण गरेको र तोकिएको समयमा पनि कर्जा असुली गर्न नसकेको पाइएको हो ।
बीमा प्राधिकरणले गरेको अनुगमनमा लिएको नमुना कर्जामध्ये करिब ८ करोड रुपैयाँ कर्जा अवधि सकिएको पाइएको छ । दुई पांग्रेको करिब तीन करोड रुपैयाँ कर्जा असुली बाँकी रहेको छ । चार पांग्रे सवारी साधनको दुई करोड ३५ लाख ५९ हजार रुपैयाँ असुली नै भएको छैन ।
एडभान्स कर्जा बापत कम्पनीले अभिकर्तालाई प्रदान गरेको रकममध्ये २२ लाख १८ हजार रुपैयाँ असुली भएको छैन । घर कर्जा बापत प्रदान गरिएको दुई करोड ४६ लाख ४७ हजार रुपैयाँ असुली नभएको अनुगमनले देखाएको छ ।
बीमकले अभिकर्तालाई प्रदान गरेको कर्जामध्ये दुई पांग्रेको दुई देखि चार बर्षमा भुक्तानी गर्नुपर्नेछ । चार पांग्रे सवारी साधनको पाँच वर्ष भित्रमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
सूर्य ज्योतिको सञ्चालककै योग्यतामा पनि कैफियत
सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकको शैक्षिक योग्यतामा कैफियत भेटिएको छ । कम्पनीले बीमा ऐन २०७९ मिचेर शैक्षिक योग्यता र कर चुक्ताकोे पर्याप्त प्रमाण नभएका व्यक्तिलाई सञ्चालकमा नियुक्त गरेको छ ।
स्रोतका अनुसार कम्पनीका तीन जटा सञ्चालकले विदेशी विश्वविद्यालयबाट प्राप्त गरेको शैक्षिक योग्यताको समकक्षता प्रमाणपत्र नै नलिइएको पाइएको छ । कम्पनीका सञ्चालक आकाश गोल्छा, स्वतन्त्र सञ्चालक चूडामणि देवकोटा, प्रिया तयालको विदेशी विश्व विद्यालयबाट प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण नै नलिइएको पाइएको हो ।
बीमा ऐन २०७९ को दफा ४९ मा सञ्चालकको योग्यता तोकिएको छ । जसअनुसार बीमा कम्पनीमा नियुक्ति हुने सञ्चालकले बीमा, सञ्चालकले मौद्रिक, बैंकिङ्ग, वित्तीय, बाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा बाणिज्य कानून विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । तर, सूर्य ज्योति लाइफ इन्स्योरेन्स सञ्चालकहरूले विदेशी विश्वविद्यालयबाट अध्यापन गरेको उल्लेख गरे पनि समक्षकताको प्रमाणपत्र नै नभएको पाइएको छ ।
त्यस्तै, कम्पनीका सञ्चालक केशव प्रसाद भट्टराई, हेमन्त नाहटा, आकाश गोल्छा र प्रिया तयालको कर चुक्ता प्रमाणपत्र नभएको फेला गरेको छ । बीमा ऐनको दफा ५० मा सञ्चालकको अयोग्यता तोकिएको छ । जसअनुसार प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर चुक्ता नगरेको व्यक्ति सञ्चालक हुन नसक्ने व्यवस्था गरिएको छ । तर, कम्पनीले कर चुक्ता गरेको प्रमाणपत्र नभएका व्यक्तिलाई पनि सञ्चालकमा नियुक्त गरेर बीमा ऐन उल्लंघन गरेको छ ।
त्यस्तै, सञ्चालक समितिले ऐन, नियमावली पालना भए नभएको सम्बन्धमा पनि कार्यविधि नबनाएको पाइएको छ । संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०८० को बुँदा ११ (१) को व्यवस्था बमोजिम बीमकको सञ्चालक समितिले ऐन, नियम, प्रचलित कानुन, प्राधिकरणबाट जारी भएको निर्देशन, सञ्चालक समितिबाट बनाइएका नीति, नियम, निर्णय, निर्देशन, दिग्दर्शन, परिपत्र वा कार्यविधि पालना भए नभएको सम्बन्धमा कार्यविधि बनाउनुपर्नेछ छ । साथै प्रत्येक तीन/तीन महिनामा अनुगमन तथा सुपरिवेक्षण गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ । तर, कम्पनीले निर्देशिका भएको सो व्यवस्था समेत पालना नगरेको पाइएको छ ।