काठमाडौं । फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २ दशमलव ७ किमी केबलकार निर्माणका विषयमा स्थानीयले विरोध गरेपछि त्यसका पक्ष विपक्षमा यतिबेला देशैभरि चर्चा परिचर्चा र बहस शुरु भएको छ । मंगलबार नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नकारात्मक सन्देश प्रवाह हुने बताउँदै केबलकार विकासको आधार, बन्द-हड्ताल नगर्न आह्वान गरेको छ ।
यसैबीच नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालले वित्तीय क्षेत्रलाई आन्दोलनको क्षेत्र बनाउनु खराब संस्कार भएको बताएका छन् । उनले बैंक सबैको साझा हुने भएकाले पाथीभरा केबलकार निर्माणसँग जोडेर वित्तीय क्षेत्रलाई बदनाम गर्नु गलत कार्य भएको बताए । आर्थिकन्यूजसँग कुरा गर्दै उनले भने, ‘बैंक भनेको आम जनाताको रकमको सुरक्षा गर्ने निकाय हो । यसमा कुनै व्यक्ति जोडिएको भन्दैमा बैंकमा क्षति पुग्ने गरी बोल्नु वा भौतिक आक्रमण गर्नु गलत हो ।’
बैंकिङ क्षेत्रमा लाखौँ नेपालीहरुको लगानी हुन्छ यसलाई कसैले पनि आन्दोलन गर्ने वा प्रतिशोध साँध्ने ठाँउ बनाउन नहुने उनको भनाइ छ ।
ताप्लेजुङमा बन्न लागेको केबलकारको विरोध गर्दा ग्लोबल आईएमई बैंक बीचमा ल्याउनुपर्ने कुनै पनि कारण नभएको उनले बताए । यसलाई सरकार र आन्दोलनरत पक्षबीचमा चाँडो वार्ता गरेर समस्या समाधान गर्न पनि उनले आग्रह गरेका छन् ।
पछिल्लो समय केबलकार निर्माणको विरोध गरिरहेको आन्दोलनरत पक्षका केही व्यक्तिले ग्लोबल आईएमई बैंकलाई बहिष्कार गर्न भन्दै सामाजिक सञ्जालमार्फत् आह्वान गरिरहेका छन् । उनीहरूले ग्लोबल आईएमईको बैंक खाता बन्द गर्नुपर्ने भड्काउ अभिव्यक्ति दिइरहेका छन् ।
तथापि यसले बैंकको कारोबारमा भने त्यस्तो कुनै असर नपरेको नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले बताए ।
यता पहिचानवादी समूहका एक संस्था किराँत यक्थुम चुलुङका अध्यक्ष प्रेमप्रसाद लिम्बु केबलकार निर्माणको विरोध गरे पनि त्यसलाई अन्य क्षेत्रसँग नजोडिएको बताउँछन् ।आन्दोलनको उद्देश्य कुनै सार्वजनिक सम्पत्तिमाथि लक्षित नभएर लिम्बुहरुको सांस्कृतिक धरोहरको बचाउनतिर मात्र केन्द्रित रहेको उनको भनाइ छ । ‘लिम्बुहरूको एक मात्र संस्कृतिको धरोहरको मूल्यमान्यतालाई हामीले नै हो बचाउने हो ।यसमा कुनै पनि व्यक्ति वा संस्थाहरुप्रति हाम्रो समूदाय पूर्वाग्रह छैन,’ उनले भने, 'आन्दोलनका क्रममा आईएमई समूहको प्रवर्द्धन रहेको ग्लोबल आईएमई बैंकका विषयमा केही कुरा उठेको हो । तर, यसमा सरकारको समेत लगानी र हजारौँ नेपालीको निक्षेप समेत रहेको हुनाले हाम्रो समूहले यसलाई प्रहार गर्ने विषय नै भएन ।'
ग्लोबल आईएमई बैंक देशको ७७ जिल्लामा नै शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । यसका देशभर ५५ शाखा कार्यालय, ३७९ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भइसकेको छ । बैंकले अहिलेसम्म बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।