शीर्षकहरू

विद्युतीय ट्याक्सी: सङ्ख्या बढ्यो, छैन सहुलियत

विद्युतीय ट्याक्सी: सङ्ख्या बढ्यो, छैन सहुलियत
फोटो तथा भिडियोः श्यामसुन्दर गौरो

सिन्धुपाल्चोकका दिनेश गिरी विगत १७ वर्षदेखि काठमाडौंमा ट्याक्सी चलाउँदै आएका छन् । ६ जनाको परिवार पाल्नका लागि उनले पेट्रोलबाट चल्ने ट्याक्सी चलाउँदै उनले ६ जनाको परिवार पाल्दै आएका थिए । उनले लामो समयदेखि ट्याक्सी चलाए पनि बचत गर्न भने सकेका थिएनन् । 

कमाएको पैसा पेट्रोलमै धेरै जाने भएकोले उनी त्यसको विकल्पको खोजीमा थिए । विकल्पको रुपमा अहिले विद्युतीय ट्याक्सी चलाउन थालेका छन् ।

पेट्रोल र विद्युतबाट चल्ने ट्याक्सीमा के भिन्नता पाउनु भयो भन्ने प्रश्नमा उनी भन्छन्,  “म दिनभर ट्याक्सी कुदाउन दुई हजारदेखि तीन हजारसम्मको पेट्रोल हाल्थेँ  । मैले दिनमा सात हजार रुपैयाँ पेट्रोलबाट चल्ने ट्याक्सीबाट कमाएँ भने तीन हजार जति पेट्रोलमै खर्च हुन्थ्यो । तर, अहिले विद्युतीय ट्याक्सी चलाउँदा त्यो रकम बचत भएको छ।”

ट्याक्सी चार्जको लागि उनी बाहिर जानु पर्दैन । आफ्नै घरमा चार्ज गर्ने गरेका छन्। पुरा चार्ज गर्नका लागि २० युनिट भन्दा पनि कम विद्युत् खपत हुने दुबैजनाले बताए ।  

गिरी जस्तै विगत एक वर्षदेखि ट्याक्सी चलाउँदै आएका छन्, भक्तपुरका सुरेश खत्री पनि । एक वर्षअघि उनी विदेशबाट फर्किएर पेट्रोलबाट चल्ने ट्याक्सी चलाए । त्यसबाट खासै आम्दानी नभएपछि उनी पनि अहिले विद्युतबाट चल्ने ट्याक्सी चलाउन थालेका छन् ।

२७० रुपैयाँ खर्चमा दिनभर ! 

नेपालका सडकहरूमा विद्युतीय सवारी साधनको सङ्ख्या बढ्दो छ । प्रदूषण र पेट्रोलको मूल्यका कारण पनि धेरैको ध्यान विद्युतीय गाडीतर्फ तानिएको देखिन्छ । काठमाडौं उपत्यकामा चल्ने ट्याक्सीको कुरा गर्ने हो भने अहिले यस्ता ट्याक्सीको बजारमा उल्लेख्य उपस्थिति देखिन्छ । 

विद्युतीय ट्याक्सीबाट राम्रो कमाइ गर्न सकिने भएकोले आफू पनि लोभिएको खत्रीले सुनाए । ‘पेट्रोलबाट चल्ने ट्याक्सी भन्दा विद्युतीय ट्याक्सी कति राम्रो राम्रो नि । यसबाट कमाई पनि राम्रो हुन्छ । कमाएको पैसा तेलमा खर्च हुँदैन । सबैजसो बच्छ’, उनले भने ।

विद्युतीय ट्याक्सी चलाउनेहरूलाई धेरै नै फाइदा हुने देखिन्छ । पेट्रोलबाट चल्ने ट्याक्सीभन्दा विद्युतीय ट्याक्सी चलाउँदा आर्थिक रुपमा धेरै नै फाइदा हुने गरेको ट्याक्सी व्यवसायी राजु घिमिरे बताउँछन् । 

कुनै एक व्यक्तिले दिनभर ट्याक्सी चलाउँछ भने उसले कम्तीमा तीन हजार रुपैयाँको पेट्रोल हाल्नु पर्ने हुन्छ । घिमिरेका अनुसार विद्युतीय ट्याक्सी २३० किलोमिटर कुदाउन उसले २७२ रुपैयाँको चार्ज गरे पुग्छ । यसरी हेर्दा उनले २७० रूपैयाँमै दिनभर ट्याक्सी कुदाउन सक्ने देखिन्छ ।  

ग्राहकको पहिलाे रोजाइ 

ग्राहकको रोजाइमा पनि विद्युतीय ट्याक्सी पर्ने भएकोले उनी हर्षित छन् । “अहिले प्राय सबैले विद्युतीय ट्याक्सी नै चढ्न रुचाउनु हुन्छ । विद्युतीय ट्याक्सी राम्रो अनि लचकदारका साथ आरामदायी रहेकोले पनि होला । तीन चार अरू गाडीको लाइनमा एउटा मात्रै विद्युतीय छ भने पहिलो प्राथमिकतामै पर्छ”, उनले सुनाए । 

दिनेश झैँ सुरेश पनि यात्रुहरूबाट राम्रो प्रतिक्रिया पाएको सुनाउँछन् । विद्युतीय ट्याक्सीमा चढ्ने यात्रुहरूले समेत आरामदायी र राम्रो रहेको प्रतिक्रिया दिने गरेको उनले सुनाए।

भाडा भने पेट्रोलकै बराबर

सस्तो खर्चमा संचालन हुने भए पनि विद्युतीय ट्याक्सीहरूको भाडादर भने पेट्रोलबाट चल्ने गाडीहरूकै बराबर रहेको छ । यसरी हेर्दा यात्रुलाई भने विद्युतीय ट्याक्सी सडकमा गुड्दा आर्थिकरुपमा कुनै सहुलियत प्राप्त भएको देखिँदैन । तर, आरामदायी यात्राको हिसाबले भने विद्युतीय गाडीमा फाइदा हुने ट्याक्सी व्यवसायी राजु घिमिरेको भनाई छ ।

विद्युतीय गाडीहरूको सुरुको लागत बढी भएकोले पेट्रोल बराबरकै भाडा लिनु पर्ने बाध्यता रहेको व्यवसायीहरूको तर्क छ । उनीहरू भन्छन्, “‘हामीले विद्युतीय सवारी साधन किन्नका लागि सुरुमै बढी लागत खर्चिनु पर्ने बाध्यता छ । त्यसले गर्दा पनि हामीले पेट्रोलको बराबरको भाडा लिनु पर्ने भइरहेको छ ।”

यदि सरकारले सहुलियत ब्याजदरमा व्यवसायीहरूलाई गाडी खरिदको व्यवस्था गरिदिने हो भने पेट्रोलबाट चल्ने गाडीभन्दा २० प्रतिशत सस्तोमा विद्युतीय सवारीले सेवा दिन सक्ने ती व्यवसायीहरूको तर्क रहेको छ । 

सङ्ख्या बढ्यो, छैन सहुलियत 

विद्युतीय सवारी साधनको सङ्ख्या बढे पनि सरकारबाट अपेक्षाकृत सहुलियत भने प्राप्त नभएको व्यवसायीहरूको गुनासो छ । सरकारले आर्थिक विधेयकमार्फत तुलनात्मक रूपमा कम क्षमताका विद्युतीय सवारीमा भन्सार महसुल र अन्तः शुल्क बढाएको छ । जसले गर्दा ट्याक्सीका रुपमा प्रयोग हुनसक्ने गाडी पनि अत्यन्तै महँगा छन् ।

अहिले सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत ५० देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीमा भन्सार महसुल ५ प्रतिशतले वृद्धि गरेर १५ प्रतिशत पुर्‍याएको छ भने त्यसबाहेक १० प्रतिशत अन्तःशुल्क पनि लगाएको छ । उक्त व्यवस्थाले साना विद्युतीय गाडीहरूको मूल्य महँगो पर्न गएको व्यवसायीको तर्क छ ।

विद्युतीय गाडीको मूल्य अति महँगो रहेकोले किन्न नै गाह्रो पर्ने दिनेश गिरीले गुनासो गरे । “यो गाडीको मूल्य धेरै छ । पेट्रोलको गाडीको मूल्य भने सस्तो छ । यसमा भन्सार छुट दिने हो भने मूल्य कम पर्न जान्छ । धेरैले खरिद पनि गर्न सक्छन्”, उनले भने ।

सरकारले विद्युतीय गाडीलाई प्राथमिकता राख्नु पर्ने गिरीको सुझाव छ । उनले भने, “राज्यले पेट्रोलको गाडीलाई विस्थापित गर्ने गरी ईभी गाडीलाई प्रमोट गर्नु पर्‍यो । कसरी हुन्छ त्यसरी नै प्राथमिकतामा राखेर सरकारले नीति बनाउनु पर्छ ।”     

व्यवसायी घिमिरेले पनि सरकारसँग सहुलियत माग गर्दै भने,  “सरकारले वार्षिक सवारी कर, आयात कर, ब्याज १३ प्रतिशत तिरिरहेकोमा त्यसलाई न्यूनतम ५ प्रतिशत बनाइदिनु पर्छ । यसका साथै विद्युतीय सवारीमा भएको व्यवस्था परिमार्जन गरेर थप सहुलियत दिने हो भने एउटा स्वरोजगार ड्राइभर पेसा भएको मानिस बिदेसिनु पर्ने अवस्था आउँदैन ।’

नेपालमा विद्युतीय गाडी भित्रिएको लामो इतिहास छैन । तर, छोटो समयमै विद्युतीय गाडीहरूले राम्रो बजार लिइरहेका छन् । यसले धेरैको ध्यान तानिरहेको छ । तर, महँगो भएकाले धेरैले किन्न सकिरहेका छैनन् । विगत १५ वर्षदेखि ट्याक्सी व्यवसाय गर्दै आएका घिमिरे भन्छन्, “‘पुरानो ट्याक्सी नभएकाहरूलाई नयाँ विद्युतीय ट्याक्सी किन्न गाह्रो छ । नयाँ विद्युतीय ट्याक्सी किन्न करिब ४० लाख रुपैयाँसम्म खर्च हुन्छ ।”

चार्जिङ स्टेसनको समस्या

विद्युतीय सवारी साधनको सङ्ख्या बढे पनि यसको लागि चार्जिङ स्टेसन भने पर्याप्त छैनन् । चार्जिङ स्टेसनको ठूलो समस्या छ । जसरी विद्युतीय गाडीको बजार बढिरहेको छ त्यसरी नै चार्जिङ स्टेसनको सङ्ख्या भने बढेको छैन ।

चार्जिङ स्टेसनको समस्याबारे सुरेश खत्रीले गुनासो गरे । उनले भने, “‘विद्युतीय गाडी मात्रै बढी भएर भएन । चार्जिङ स्टेसन ठाउँ ठाउँमा व्यवस्था हुनुपर्‍यो । यसको समस्या छ । गाडी चार्ज गर्नको लागि एक दुई घण्टा पर्खिनु पर्ने समेत बाध्यता छ ।”

विद्युतीय सवारीलाई ‘इड्राइभ’को साथ

काठमाडौं उपत्यकामा चल्ने विद्युतीय ट्याक्सीहरूका लागि ईड्राइभ नेपालले छुट्टै दुई वटा ठाउँमा चार्जिङ स्टेसन बनाइरहेको छ । इड्राइभले विद्युतीय ट्याक्सीहरूको लागि विभिन्न स्थानमा चार्जिङ स्टेसनको व्यवस्था गरिदिएको हो । यसले सितापाइला र एकान्तकुनामा चार्जिङ स्टेसन बनाएको छ भने एक वर्षभित्र काठमाडौं उपत्यकाभित्रका थप १० ठाउँमा विद्युतीय ट्याक्सीहरूको लागि चार्जिङ स्टेसन बनाउने तयारी गरेको छ ।   

विद्युतीय सवारी साधनलाई समेटेको राइड शेयरिङ एप हो, ‘ईड्राइभ नेपाल’ । “हामीले राइड शेयररिङ मात्रै सुविधा दिएका छैनौँ । यसका साथै हामीले ट्याक्सी चलाउन चाहानेहरुका लागि सहुलियतमा ट्याक्सी किन्न सक्ने वातावरण बनाइरहेका छौँ”, ईड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने ।

उनका अनुसार अहिले नेपालमा धेरैजसो टाटाको विद्युतीय ट्याक्सी चलिरहेका छन् । पेट्रोल डिजेलको नाममा नेपालबाट खर्बौँ रुपैयाँ बिदेसिइरहेको छ । काठमाडौं उपत्यकाको मात्रै उदाहरण लिने हो भने यहाँ दैनिक १२ हजारको हाराहारीमा ट्याक्सीहरू गुड्छन् । जसबाट दैनिक तीन करोड रुपैयाँको पेट्रोल खपत हुन्छ । त्यो पैसा विदेशमा नै जाने हो।  

त्यति नै संख्यामा विद्युतीय ट्याक्सी चल्ने हो भने दैनिक २४ लाख रुपैयाँको मात्रै बिजुली खपत हुने देखिन्छ । त्यो पनि नेपालमै उत्पादित बिजुली खपत हुन्छ । यसो गर्दा पैसा पनि बिदेसिने हुँदैन । पेट्रोलको खपत घटाउन र नेपालकै बिजुली खेर जानबाट जोगाउन सबैले ध्यान दिनु पर्ने मास्केको भनाई छ ।  

फोटो तथा भिडियोः श्यामसुन्दर गौरो/आर्थिकन्युज