शीर्षकहरू

सोनापुर मिनरल्सको १६औं एजीएम सम्पन्न, दिएन शेयरधनीलाई लाभांश

सोनापुर मिनरल्सको १६औं एजीएम सम्पन्न, दिएन शेयरधनीलाई लाभांश

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले शेयरधनीको हात खाली बनाउँदै १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । घोराही
उपमहानगरपालिका-१५, दाङस्थित होटल माला इनमा सोनापुरले साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाबाट लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि स्वीकृत भएको सो कम्पनीले जानकारी दिएको छ । 

सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूमा अंकित खड्का र रचना कुमारी ओझालाई निर्विरोध निर्वाचित गरेको छ ।

सोनापुरले साउन २९ गते प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ करोड २३ लाख २०० कित्ता सेयर सोनापुरले आम सर्वसाधारणलाई प्रिमियम मूल्यमा बेचिसकेको छ ।

प्रिमियम मूल्यमा जारी गरेको सहित कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता आईपीओ कात्तिक २ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । आइतबार ९कात्तिक १२० देखि दोस्रो बजारमा कारोबार शुरु भएको सोनापुरको शेयरमा पहिलो दिन नै नकारात्मक सर्किट लागेको थियो । नेप्सेको स्पेशल प्रिओपनिङ सेसनमा ३५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर ३१५ रुपैयाँमा झरेको थियो ।

सोनापुरले साउनमा दाङ र रोल्पाका उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ जारी गरेको थियो । तर, स्थानीयले आईपीओ बहिष्कार गरेपछि १४ लाख ३ हजार ५ कित्ता आईपीओ बिक्री नै भएन ।

नबिकेको सो आईपीओ पनि थपेर सोनापुरले वैदेशिक रोजगारीमा रहेको नेपालीका लागि जारी गरेको थियो । विदेशमा रहेका नेपालीले मागभन्दा बढी आवेदन दिएपछि सो शेयर बेच्न सकेको थियो ।

यो कम्पनीले ७५ करोड रुपैयाँभन्दा बढी विद्युत महसुल तिर्न आनाकानी गरेको थियो । पटक–पटक ताकेता गर्दा पनि महसुल भुक्तानी नगरेपछि नेपाल विद्युत् प्राधिकरणले गत वैशाखमा लाइन काटेको नै काटिदिएको थियो ।

रोल्पाको रुन्टीगढीमा खानी विभागका कर्मचारीसँग मिलेमतो गरी अनुमति लिएभन्दा बढी चुनढुंगा उत्खनन गरेको भेटिएको थियो । ६ करोड ९९ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुन्धान आयोगले गत माघमा उद्योगका प्रबन्ध निर्देशक निपेश तायलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।