शीर्षकहरू

सम्भावित संसद् अवरोध रोक्न सभामुखले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताको बैठक

सम्भावित संसद् अवरोध रोक्न सभामुखले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताको बैठक

काठमाडौं । सम्भावित संसद् अवरोध रोक्न सभामुख देवराज घिमिरेले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताको बैठक बोलाएका छन् । सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यालयमा शीर्ष नेताको बैठक बोलाएका हुन् ।

सभामुख घिमिरले छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् ।

आगामी वैशाख २८ गतेदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । तर बैठक सञ्चालन हुन नदिनेगरी कांग्रेसले प्रतिनिधिसभा अवरोध गर्ने सम्भावना प्रवल छ । सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको कांग्रेसले बजेट अधिवेशनअगावै छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

कांग्रेसले संसद् अवरोध गर्नसक्ने सम्भावना देखेर सभामुख घिमिरेले अधिवेशन सुरु हुनुअघि नै सहमति प्रयासका लागि बैठक बोलाएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले बताए ।

गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेमाथि सूर्यदर्शन र सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ । कांग्रेसले ती आरोपमाथि छानबिन गर्न समिति बनाउन माग गर्दै आएको छ । अवरोधकै बीच मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै सरकारले गत वैशाख २ गते रातिबाट हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।