शीर्षकहरू

चेपाङबस्तीमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

चेपाङबस्तीमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

काठमाडौं । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युतीकरण गरिएको छ । 

नेपाल विद्युत प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ । प्राधिकरणले विद्युत्को पहुँच विस्तारका लागि मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रुपमा विपन्न  घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ । 

मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत प्राधिकरणले विपन्न वर्गलाई निः शुल्क मिटर उपलब्ध गराएर विद्युत जडान गरिदिंदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको  सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिंदैन । 

चितवनको इच्छाकामना गाउँपालिका–१ कालिङमा गरिएको शनिबार गरिएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँपालिकालाई पूर्ण विद्युतीकरण भएको घोषणा गरे । साथै, कार्यकारी निर्देशक घिसिङले गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायलाई निःशुल्क मिटर पनि वितरण गरे ।  

प्राधिकरणले इच्छाकामना गाउँपालिकाका ७ वटा वडाहरुको विद्युतीकरणका चालू आर्थिक वर्षमा मात्र  १५ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ । कार्यकारी निर्देशक घिसिङले सरकारले उपलब्ध गराएको बजेट, प्राधिकरणले कमाएको नाफा र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुमार्फत सहुलियतपूर्ण ऋण लिएर देशलाई पूर्ण विद्युतीकरण गर्ने कार्य भइरहेको बताए ।