शीर्षकहरू

नेपालगञ्ज एकीकृत जाँचचौकी सञ्चालन

नेपालगञ्ज एकीकृत जाँचचौकी सञ्चालन

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आएको छ । जाँचचौकीको आज एक कार्यक्रमका बीच जाँचचौकीको शुभारम्भ गर्नुभएको हो ।

त्यसअवसरमा मन्त्री भण्डारीले जाँचचौकी स्थापनापछि राजस्व सङ्कलनमा वृद्धि र अवैध ओसारपसार नियन्त्रण र व्यापार पारवहनको क्षेत्रमा समेत उल्लेख्य योगदान पुग्ने बताए ।  उनले आन्तरिक राजस्व सङ्कलन हुननसकेको र व्यापारघाटा बढिरहेको अवस्थामा आयात तथा निर्यातमा समेत जाँचचौकी फलदायी हुने विश्वास व्यक्त गरे । मन्त्री भण्डारीले लक्ष्यको आधाहिस्सा पनि राजस्व उठ्न नसकेको भन्दै खुला सीमाबाट हुने वस्तुको आयातसमेत व्यवस्थित बनाउन आवश्यक रहेको बताए । 

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जाँचचौकी सञ्चालनपछि अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि हुनुका साथै अवैध क्रियाकलाप रोक्न सहयोग पुग्ने बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जाँचचौकी स्थापनाले चौरीपैठारी रोकथाममा कडाइ हुने विश्वास व्यक्त गर्दै भारतबाट रु एक सयको सामान ल्याउनेहरुलाई भने सहजीकरण गर्नपर्ने धारणा राखे । यस्तै, उद्योग सचिव कृष्णबहादुर रावत, भन्सार विभागका महानिर्देशक ढुण्डिराज निरौलालगायतले जाँचचौकी सञ्चालनबाट लाभलिन आग्रह गरे । 

एकीकृत जाँच चौकीमा कुल आयाततर्फ दुई सय र निर्याततर्फ ७५ ट्रकका लागि पार्किङ् क्षेत्र, भन्सार, अध्यागमन, क्वारेन्टिन, भन्सार सुरक्षा, अपरेटर कम्पनी, बैंक सञ्चालनलगायत कार्यका लागि भवन निर्माण गरिएका छन् । साथै मालवस्तु आयातको भण्डारणका लागि तीन गोदाम, एप्राइजल सेट, विद्युतीय सबस्टेशन, धर्मकाटालगायत महत्वपूर्ण पूर्वाधार निर्माण गरिएका छन् । 

करिब दुई सय करोड भारतीय रुपैयाँको लागतमा निर्माण सम्पन्नभएको जाँचचौकीको विसं २०८० जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।  नेपाल भारतका चार सीमानाका विराटनगर, वीरगंज, भैरहवा र नेपालगञ्जमा दुबैतर्फ समानरूपमा एकीकृत जाँच चौकी (आइसीपी) निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच सन् २००५ अगष्ट ३ मा भएको समझदारीअनुरूप वीरगञ्ज र विराटनगरमा एकीकृत जाँचचौकी निर्माणकार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । नेपालगञ्ज एकीकृत जाँचचौकीको निर्माण कार्य विसं २०७७ असोज २६ गते सुरूभई विसं २०८० फागुनमा सम्पन्न भएको हो । 

कुल ४५ दशमलव ८१ हेक्टर क्षेत्रफलमा फैलिएको जाँच चौकीमा पहिलो चरणमा १८ दशमलव शून्य पाँच हेक्टरमा संरचना निर्माण गरिएका छन् ।