शीर्षकहरू

राष्ट्रिय सहकारी महासंघले सहकारी रोजगार मेला गर्ने

राष्ट्रिय सहकारी महासंघले सहकारी रोजगार मेला गर्ने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले दक्ष युवा मानवशक्ति आकर्षण गर्दै सहकारीमार्फत बेरोजगारी न्युनिकरणमा योगदान दिने उद्देश्यले सहकारी रोजगार मेला आयोजना गर्ने भएको छ । महासंघको आइतबार बसेको बोर्ड बैठकले २०८१ असार ७ देखि ९ गतेसम्म महासंघ परिसरभित्र पहिलो सहकारी रोजगार मेला आयोजना गर्ने निर्णय गरेको हो । 

महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आइतबार भर्चुअल रुपमा बसेको बोर्ड बैठकले नेपाल सरकार, केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंकलगायत अन्य सहकारी संघ/संस्था तथा निकायहरुसँगको सहयोग र समन्वयमा मेला आयोजना गर्ने निर्णय गरेको हो । 

साथै बैठकले सहकारी अभियानको मर्यादाक्रमको सूची स्विकृत गरेको छ । नेपालको सहकारी अभियानका कार्यक्रमलाई मर्यादित, व्यवस्थित र विादरहित बनाउन सहकारी अभियानको मर्यार्दाक्रम सुची तयार भएको महासंघका अध्यक्ष मल्लले बताए । साथै महासंघले सहकारी क्षेत्रमा आइपर्ने समस्या एवं चुनौतीहरु समाधानमा समन्वय तथा सुझाव लिन विज्ञ समूह गठन गर्ने भएको छ ।

आइतबारको बैठकले विज्ञ समूह निर्माण तथा संचालन विधि समेत पास गरेको छ । विभिन्न क्षेत्रका विज्ञहरुलाई समेटेर छिट्टै विज्ञ समूह गठन गरिने अध्यक्ष मल्लले बताएका छन् । आइतबारको बोर्ड बैठकले महासंघको आगामी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्न वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा कार्यक्रम तथा बजेट मस्यौदा उपसमिति गठन गरेको छ ।

सो समितिको सदस्यहरुमा महासंघका उपाध्यक्ष खेम बहादुर पाठक र उपाध्यक्ष डिवी बस्नेत छन् । साथै युवा समन्वय उपसमितिको संयोजकमा संचालक सुमन नेपाललाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।