शीर्षकहरू

नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । नेपाल इन्स्योरेन्सले पूँजीबृद्धिका लागि ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । हाल १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रूपैयाँ चुक्तापूँजी भएको कम्पनीले ४० प्रतिशत हकप्रद शेयरमार्फत पूँजी थप गर्न लागेको हो । 

कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्नेछ । ४० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार रूपैयाँ कायम हुनेछ । यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो । 

हकप्रद पछि पनि कम्पनीलाई थप १९ करोड ८० लाख ६२ हजार पूँजी आवश्यक हुन्छ । चालू आर्थिक वर्षको मुनाफबाट कम्पनीले बोनस शेयर वितरण गरी थप पूँजी जुटाउन सक्ने सम्भावना छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले जेठ ४ गते विशेष साधारण सभा बोलाएको छ । 

वैशाख १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । हकप्रद निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।